आहा दाङ, अहो दाङ

म पहिलोपटक दाङको तुलसीपुर ३० वर्षअघि पुगेको थिएँ। जतिबेला यो जिल्ला भूसंरक्षणको दृष्टिले जलाधार विभागको प्राथमिकतामा पर्दथ्यो।

सायद घोराहीमा एउटा नर्सरी अनुगमन गर्न पुगेको थिएँ। वन विनाशका कारण रातो माटोमा चिरा चिरा भएका थुप्रै ठाउँ देखेको भने अलिअलि स्मृतिमा छ। सोही बेला भैरव रिसालको संयोजनमा नेपाल वातावरण पत्रकार संघ (नेफेज)ले घोराहीमा आयोजना गरेको वातावरण संरक्षणसम्बन्धी गोष्ठीमा पनि पाइलो टेक्न पुगेको याद छ।

एकजना स्थानीय थारू नर्सरी नाइके थिए। उनैको घरमा बस्ने मौका पाएको थिएँ। मेरा लागि थारू जनजीवन नजिकबाट साक्षात्कार गर्ने अवसर थियो त्यो।

अब यसपटक दाङ जाँदा देखेका कुरा गर्छु।

सबैभन्दा पहिले हामी (म र सहकर्मी)लाई स्थानीय आयोजक संस्थाका मित्रले थारू संस्कृतिक संग्रहालय लैजानुभयो। त्यहाँ दाङलगायत पूर्वी तराईमा रहेका थारूदेखि कञ्चनपुरसम्मका थारूका चालचलन र संस्कृतिका जीवन्त प्रस्तुतिहरू रहेछन्। थारू जीवनका विभिन्न समयका झाँकीहरू पनि थिए। खेतीपाती, बिहाबारी, बडघर छान्नेसम्मका प्रक्रिया, त्रिआयामिक वस्तु र द्विआयामिक चित्रहरूको अर्थपूर्ण संयोजन रहेछन्।

त्यो हेरेर हामी निकै प्रभावित भयौँ। दाङ, तुलसीपुर पुगेर आएका साथीहरू किन कसैले पनि त्यस्तो संग्रहालय भएको कुरा सुनाएनन् भन्ने मलाई लागिरह्यो।

थारू संग्रहालयबारे खासगरी अङ्ग्रेजी सञ्चारमाध्यमले केही लेखेका रहेछन्। तर त्यहाँको जीवन्तता, खेतीको यथार्थपरकबारे भने उल्लेख गरेको भेटिनँ। खेतमा धान, पानीसँगै घुर र कुन्यु पनि वास्तविक नै थिए। किसान र गोरुका भने मूर्ति बनाइएको थियो।

अहिले धनी देशहरूमा संग्रहालयको क्षेत्र विस्तार भइरहेको छ। यी देशहरूमा हराउन लागेका वा हराएका वस्तुहरू संरक्षित गरी प्रदर्शन गर्नेमा सीमित नरही त्यसको अध्ययनमा जुटेका छन्। तर बेलायत, फिलिपिन्सजस्ता देशहरूमा देखिएका जीवित या खुला आकाशका संग्रहालयबाहेक यति संगठित, बृहत् र जीवन्त संग्रहालय मैले देखेको थिइनँ। तर, तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकाहरूमा भने स्थानीय सरकार र गैरसरकारी संस्थाहरूको सम्बन्ध गजबको रहेछ। नागरिकमा पनि तिनको छवि सकारात्मक रहेछ।

म सहकर्मीसहित त्यहाँ गएको एउटा गैरसरकारी संस्थाको काम हेर्न थियो। हामीसँगको भेटमा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले गैरसरकारी संस्थाप्रतिका कतिपय धारणा र आरोप निराधार भएको बताइन्। आफ्नो पालिकामा पनि सहकर्मीहरूलाई गैरसरकारी संस्थाको आवश्यकता र दक्षताबारे बुझाउन समय लागेको तर अहिले अवस्था सहज बनेको बताउँदै उनले भनिन्, “सरकारी संयन्त्र गैरसरकारी संस्थाको जस्तो गहिरोसँग जनतामाझ जान सक्दैन, मैले सबै वडा अध्यक्षहरूसँग पालिकाको केही योगदान मिसाएर पनि सहकार्य गरौँ भनेकी छु। निगरानी पनि गर्ने, काममा पनि लगाउने।” मैले मनमनै ३० वर्षअगाडिको नेफेजको गोष्ठीमा नेता बलदेव शर्मा मजगैयाँले सुनाएको कविताको एउटा हरफ सम्झिएँ।
मेटासिड नछरी आज उम्रन्न जमरा पनि !

त्यसबेला नै मजगैयाँले यस्तो लेखेपछि विषादीको विध्वंशबारे त्यति अपत्यारिलो पनि लागेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *