ज्याजी मुराकामी

‘इन अ पार्किङ लट’ – फोनमा म्यासेज आउनासाथ होटेल ओहायोको लबीबाट निस्किएर म पार्किङ लटतर्फ लाग्छु। मुराकामी र उनको सस्पेन्स! उनले यो भने कि आफू पार्किङ लटमा छु, तर यो भनेनन्, आखिर कुन वा कस्तो कारमा उनी छन्। उनका कथाहरूमा जस्तै यसपटक पनि रहस्य सुल्झाउने जिम्मा उनले पाठकलाई नै दिए।

काला, सेता कारहरूबीच एउटा रातो कारले मलाई परैबाट तान्यो। म दायाँबायाँ नसोची त्यसैतर्फ अघि बढेँ। त्यो रातो साब ९०० भित्र वास्तवमै मुराकामी थिए, हारुकी मुराकामी!

पछाडिको ढोका खोलेर म कारभित्र पसेँ। मैले रियर भ्यु मिररमा देखिएका उनलाई हेरेर भनेँ- ‘गुड इभिनिङ, डियर राइटर!’ मिररबाटै उनले मतिर हेरे। उनको आँखा हाँसेझैँ देखियो। उनले गाडी घुमाउँदै सोधे- ‘अनि, खै त किट्टेन?’ उनको प्रश्न सुनेर मलाई हाँसो लाग्यो, तर त्यसलाई ठूलो हुन नदिएरै भनेँ- ‘एयरपोर्टमा रोकिदियो नि’। क्षणभरको मौनतामा म यति कुरा ठम्याउँछु र सोध्छु- ‘उसले सहरबाट भाग्दै गर्दा एमजेक्यूको पिरामिड बजाएको थियो। त्यसपछि मैले पनि त्यो किताब पिरामिड बजाएरै पढी सिध्याएकी थिएँ।’ सोध्छन्- ‘त्यसो भए तिमी रोमान्टिक रिडर?’ म जवाफ दिन्नँ, बरु अर्को सम्भावना थपिदिन्छु- ‘अथवा प्रयोगवादी?’ फिस्स हाँस्छन् र भन्छन्- ‘निश्चितै रहस्यप्रेमी!’ म प्रश्नमै सही थापिदिन्छु- ‘अथवा मुराकामियन?’ दोहोरो हाँसोको लहरले पृष्ठभूमिको ज्याजलाई अझै ओझेल पारिदिन्छ।

म एक्कासि सम्झिन्छु- म यतिबेला जापानमा छु। अनि झ्यालमा टाँसिन जान्छु र टोकियो सहर नियाल्न थाल्छु। घाम भर्खर भर्खर डुबेको छ। सहरलाई अँध्यारोले छोपिसकेको छैन। सहरको मिनिमल हुँदाहुँदै एस्थेटिक हुलियाले मलाई एक किसिमले रोमाञ्चित बनाउँछ। सहरको दर्शक बनेर मौन बसिरहँदा पृष्ठभूमिमा बजिरहेको ज्याजले फेरि एकपटक मेरो ध्यान तान्छ।

उहिले एकपटक बीबीसीसँगको अन्तर्वार्तामा मुराकामीले भनेको सम्झिन्छु, उनी किताबी दुनियाँमा छिर्नुअघि एउटा ज्याज बार चलाउँथे। साँच्चै, त्यो पनि त टोकियोमै थियो। कतै हामी त्यतै त गइरहेका छैनौँ? म सोध्छु, ‘हामी कता जाँदै छौँ?’ भन्छन्- ‘कुनै क्याफे!’ यतिले मेरो जिज्ञासा शान्त हुँदैन। फेरि सोध्छु, ‘कुन क्याफे?’

भन्छन्, ‘कुनै एउटा!’ म बुझ्छु। म मुराकामीसँग छु। मैले धैर्य गर्नुपर्छ। म भन्छु, ‘यो साँझलाई तपाईंले एउटा क्यारेक्टर मात्रै दिनुभएको छ, प्लट सोच्नुभएको छैन। तपाईंलाई यत्ति थाहा छ– हामी टोकियोको मुटुभित्रको कुनै एउटा क्याफेमा गएर कफी पिउँछौँ। बाँकी यात्रा क्यारेक्टरले अघि बढाउँछ! किनभने, तपाईंलाई कफीसँगसँगै चकित खान पनि उत्तिकै मज्जा लाग्छ।’

ऐनाभित्र उनको एक जोडी आँखा फेरि हाँस्छ। सोध्छन्, ‘आर यु अ फ्यान अर अ स्टकर?’ भन्छु (कि सोध्छु?), ‘मे बी अ फ्यान हु स्टक्स?’ हाँसोको अर्को एउटा लहर … केहीछिनको मौनता अनि, कुराकानीको अर्को एउटा पत्र।

भन्छु, ‘तपाईंले ज्याज बार त छोड्नुभयो, तर ज्याज म्युजिकलाई छोड्न सक्नुभएन।’ भन्छन्, ‘अथवा त्यसले मलाई छोडेन।’ हाँसो, ठहराव, कुराकानी। भन्छु, ‘तपाईंका प्राय: किताबहरूमा ज्याज म्युजिक बज्छ। या त पृष्ठभूमिमा या त शीर्षभूमिमा। कहिले न्यारेटरले बजाउँछ त कहिले क्यारेक्टरले।’

ऐनामा फेरि मुराकामीको आँखा हाँस्छ। यसपटक उनको टाउको पनि हल्लिन्छ। तर, यो हल्लाइलाई मैले ठ्याक्कै बुझ्न सकिनँ। मेरो कुराप्रतिको उनको यो चित्त बुझाइको संकेत हो या त फेरि उनी ज्याजसँग भाइब गरिरहेका हुन्! खैर, कुरा जे भए पनि त्यसबाट माहोलमा एउटा सकारात्मक ऊर्जाको सञ्चार भइरहेको थियो। म बोल्दाबोल्दै मानौँ आफ्नै गफमा रमाइदिन्छु र थपिदिन्छु, ‘जस्तो कि एउटा च्याप्टरभरि युजुको लोग्ने र मासाहीको गफ मात्रै गरेर बिताउँछन्। हरेक लाइनैपिच्छे डायलग, फेरि डायलग, फेरि डायलग, फेरि फेरि डायलग! र अर्को च्याप्टर डायलगशून्य। मानौँ, त्यो स्पेस हो। ज्याजमा कुनै इन्स्ट्रुमेन्ट झिकेर स्पेस क्रिएट गरेजस्तै तपाईं आफ्नो उपन्यासको बीचबीचमा संवाद झिकेर त्यस्तै स्पेस क्रिएट गर्नुहुन्छ। जहाँ, पात्र अनि पाठकहरू सास फेर्छन्, मौन मनाउँछन्।

अनि ज्याजको सबैभन्दा हिप्नोटिक गुण- इम्प्रोभाइजेसन! मलाई लाग्छ, बार्न बर्निङमा त्यो धनी केटोको कन्फेसनसँगै त्यस कथामा पात्रहरू घटना तथा संवादलाई इम्प्रोभाइज गर्न थाल्छन्। हामी काउन्टरछेवैको वालमाउन्टेड टेबलमुनि खाली पडिरहेका अग्ला बार टुलहरूमा बस्छौँ। उनी सोध्छन्, ‘के लिने?’ हौसिँदै भन्छु, ‘अफ्कोर्स, जन्नी वाकर!’ जन्नी वाकर आउन बाँकी छँदै अघिकै वेट्रेस हामीतिर आउँछे र एकदमै सानो आवाजमा भन्छे (मानौँ, सास मात्रैले), ‘थ्यांक्यु फर स्टिल चुजिङ अस। खासमा माथिको सिंगो हल एउटा केटोले बुक गरेको छ। ऊ धेरै निराश देखिन्छ। यो प्लेलिस्ट पनि उसकै रिकमेन्डेसन हो।’ त्यति भनेर ऊ प्रतिक्रिया नपर्खिएरै त्यहाँबाट जान्छे।

उनी भन्छन्, ‘सी इज युमिको।’ पृष्ठभूमिमा माइल्स डेभिजको ‘ब्लु इन ग्रिन’ बजिरहेको छ। म मनमनै बोल्छु, ‘त्यसो भए माथि नीलो बत्तीमा एक्लै बसेर निराश हुने चाहिँ तोरु वान्ताबे?’ जन्नी वाकर टेबलमा आइपुग्छ। हामीले गिलास उचालेर र ठोक्काउँछौँ। सोध्छन्, ‘फर?’

मैले भनेँ, ‘फर ज्याज एन्ड द्याट ज्याजी क्याट!’ एक चुस्की लिनासाथै मानौँ मेरो सुस्ताएको धारावाहिक इन्जिन फेरि चल्न थाल्यो। भन्छु, ‘वास्तवमा बिरालाहरू पनि ज्याजी प्राणी लाग्छन् मलाई।’ अबसम्म उनलाई मेरो गफ गर्ने शैली थाहा भइसकेको हुनुपर्छ। प्रश्न नसोधेरै उनी जवाफ पर्खिन्छन् र म त्यही नसोधिएको प्रश्नको जवाफ दिन्छु (अथवा गफ?), ‘निर्दोष बच्चाजसरी प्लेफुल भएर खेल्दाखेल्दै अचानक आत्मा चियाउने गरी हेरिदिन्छन्। यिनको जस्तो फ्लेक्जिबिलिटी, अनप्रेडिक्टेबिलिटी अरू कुनै प्राणीसँग होला र?’ उनी हाँस्छन् मात्र। तर, मुराकामी पो कहाँ गए? म पर्खिन्छु। निकैबेर पर्खिसक्दा पनि उनी आउँदैनन्। म अब बारबाट निस्किएर बिस्तारै पार्किङ लटतिर जान्छु। त्यहाँ साब ९०० त के, रातो रङको कुनै पनि गाडी हुँदैन। धन्न, गाडीको सिटमै छोडेकी रहिछु बिस्कुट। किट्टेन नामको बिस्कुट देखेर मुराकामी भोलि झन्डै झन्डै बेहोस हुँदा होलान्!

ओहो! कस्तो बतास चलेको? को जानोस्, यो घरी रोकिने त घरी मान्छे नै सोहोरुँला जस्तो गर्ने हुरीबतासले पनि आफ्नो भाषामा ज्याज नै पो गाइरहेको हो कि? त्यसै त मुराकामीले पनि लेखेनन् होला, ज्याज बार चलाउँदा चलाउँदै ‘हियर द विन्ड सिङ!’ तर, उनी एकाएक कहाँ गायब भए? तपाईंले देख्नुभयो र? उनका उपन्यासका ज्याजी नामहरूबारे पनि कुरा गर्न बाँकी नै थियो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *