२०६५ सालमा बुटवलको कालिका माध्यमिक विद्यालयको कक्षा ७ को वार्षिक परीक्षामा सबै विद्यार्थी अनुत्तीर्ण भए। त्यस वर्षको नतिजाबारे विद्यालयको समीक्षा बैठकमा कक्षा शिक्षकले पेस गरेको विवरणले बैठक नै स्तब्ध भएको थियो।
त्यतिबेला विद्यालयको भौतिक पूर्वाधार पनि गतिलो थिएन। त्यसमाथि स्थानीयको स्कुलप्रति व्यवहार पनि गतिलो थिएन। स्थानीयले कक्षाकोठाका तालामा काठका ठेडी कोचेर ताला नै फोड्नुपर्ने बाध्यता थियो। झ्यालका सिसा तोडिएका थिए। विद्यालयको कम्पाउन्ड थिएन, कक्षाकोठा जीर्ण थिए। न गतिला कुर्सीटेबल, न राम्रो पढाइ। कक्षा ६ भन्दा तलका कक्षामा न्यून विद्यार्थी। त्यतिबेला जम्मा करिब ८०० विद्यार्थी थिए भने २२ जना शिक्षक-कर्मचारी र १४ कोठाको बिग्रेभत्केको भवन। यही थियो विद्यालयको तत्कालीन यथार
तर, जब २१ असार २०६५ मा घनश्याम पाठक प्रधानाध्यापक नियुक्त भए, तब त्यो घटना नै विद्यालय बदलिने कारण बन्यो। भर्खरै बागलुङको विद्यालयबाट सरुवा भएर आएका पाठक आफूलाई त्यतिबेला विद्यालयको अवस्था देखेर दया लागेको बताउँछन्।
“जेजस्तो भए पनि म प्रधानाध्यापक भएर आएँ, अब जसरी भए पनि विद्यालय सुधार्नुपर्छ भन्ने लाग्यो,” उनी सम्झिन्छन्, “सबैभन्दा सुरुमा मैले आत्मबल बढाएँ, योजना बनाएर अगाडि बढ्नुपर्छ भनेर विद्यालय विकास प्रस्ताव बनाएर विद्यालय व्यवस्थापन समितिसामु पेस गरेँ, समितिले त्यसलाई पारित गर्यो।” उनले विद्यार्थीको नतिजासँग शिक्षकलाई र विद्यालय परिवारलाई जोडे। नियमित रूपमा कक्षागत परीक्षा लिने र परीक्षामा कमजोर देखिने विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गर्न थालेपछि ‘दिन दुगुना, रात चौगुना’ गर्दै विद्यालय सुधारको बाटोमा अघि बढ्यो। २०६५ सालबाट २०७१ सालमा पुग्दा नतिजामा सुधार भयो।
“एसएलसीमा १५ प्रतिशत ल्याउन नसकेका कारण कारबाहीमा परेको विद्यालय शतप्रतिशत उत्तीर्ण गराउने र विशिष्ट श्रेणीमा सबैभन्दा धेरै विद्यार्थी पास गराउने विद्यालयका रूपमा स्थापित भयो,” उनी हर्षसाथ प्रगतिका कथा भन्छन्, “शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालयका रूपमा राष्ट्रिय ध्वजा, सिल्ड र प्रमाणपत्र दिएर सम्मान गरेको थियो। कालिकाले लगातार पाँच वटा राष्ट्रिय ध्वजा प्राप्त गरेको छ।” कालिका २०७३ सालको एसएलसी परीक्षामा राष्ट्रिय प्रथम, २०७४ सालमा राष्ट्रिय तृतीय, २०८० सालमा १६ वटा सूचकमा राष्ट्रिय प्रथम र २०८१ मा कक्षा १२ को परीक्षामा उत्कृष्ट घोषणा भएको थियो। २०७५ सालमा शिक्षा मन्त्रालयले कालिकालाई नमुना विद्यालय घोषणा गरेको थियो। २०७१ सालदेखि उत्कृष्ट बन्दै आएको यस विद्यालयमा लुम्बिनी प्रदेशका १२ जिल्लासहित देशका ७० जिल्लाका सात हजार ९३५ विद्यार्थी अध्ययनरत छन्। २०७० सालदेखि २०७५ सालसम्म प्राविधिकतर्फ निरन्तर पहिलो भएको यस विद्यालयले २०७३ सालमा अन्तर्राष्ट्रिय स्कुल अवार्डसमेत पाएको थियो।
बालविकासदेखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा बालविकासमा ३५, कक्षा १ देखि ३ सम्म ४०, कक्षा ४ र ५ मा ४५ तथा ६ र ६ भन्दा माथिका कक्षाका प्रत्येक समूहमा ४८ जनाभन्दा बढी विद्यार्थी नराख्ने नीति रहेको प्रधानाध्यापक दिनेश थापा बताउँछन्। साधारणतर्फ सात हजार ७४३ र प्राविधिक धारतर्फ १९२ विद्यार्थी अध्ययनरत छन्। चालु शैक्षिक सत्रमा तीन हजार ५०० विद्यार्थी भर्ना नपाएर फर्किए। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय नेपालकै उत्कृष्ट विद्यालयका रूपमा रहेको कालिकाको भौतिक पूर्वाधार विकासमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन्। उनी भन्छन्, “कालिका मानवज्ञान माविको असल अभ्यासलाई बुटवलका सबै विद्यालयमा सिकाइका रूपमा सञ्चालन गर्ने र बुटवलको समग्र शिक्षाको स्तरलाई नै उकास्ने योजनाअनुसार हामी काम गरिरहेका छौँ।” कम छैनन् अरू विद्यालय
अहिले रुपन्देहीका अन्य सामुदायिक विद्यालयहरू पनि कालिका मानवज्ञान माविकै पथमा लम्किइरहेका छन्। बुटवलको कान्ति माध्यमिक विद्यालय, नवीन औद्योगिक माध्यमिक विद्यालय र तिलोत्तमाको शान्ति नमुना माध्यमिक विद्यालय उत्कृष्ट नतिजा ल्याउने विद्यालय हुन्।
पाँच हजार २०० विद्यार्थी अध्ययनरत बुटवलको कान्ति माध्यमिक विद्यालय लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यालयमध्ये पर्छ। २००८ सालमा गणेश विद्या भवन प्राइमरी स्कुल र जनता विद्या भवन प्राइमरी स्कुलको एकीकरण गरी २ पुस २०१० मा गणेश जनता विद्या भवन हुँदै सुरु भएको कान्ति माविले २०१६ सालमा मिडिल स्कुल र २०२६ मा हाइस्कुल हुँदै २०६४ सालदेखि कक्षा ११ र १२ सञ्चालन गर्दै आएको छ। यसै वर्षको एसईईमा देशभरमै सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएर चर्चा कमाएको रुपन्देहीको अर्को विद्यालय हो, तिलोत्तमाको शान्ति नमुना माध्यमिक विद्यालय। ६०९ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १८ जनाले ४ जीपीए र ५४ जनाले ३.६ देखि ३.९९ जीपीए ल्याएका थिए।
२०१६ सालमा स्थापना भएको शान्ति नमुनामा २९ जिल्लाबाट विद्यार्थी पढ्न आउने प्रधानाध्यापक कुलप्रसाद लामिछाने बताउँछन्। २२९ जना शिक्षक-कर्मचारी कार्यरत शान्ति नमुना मेकानिकल विषय पढाइ हुने नेपालकै एक मात्र विद्यालय हो।
