स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा एक जना ६० वर्षे महिलामा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको हो। उनी हाल चिकित्सकको निगरानीमा रहेको र उनको अवस्था सामान्य रहेको बताइएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ती सङ्क्रमित महिला हालै यात्रा गरेर नेपाल आएको पाइएको छ। मङ्कीपक्स गराउने भाइरस बिफर भाइरसकै वर्गमा पर्छ। यद्यपि यो कम गम्भीर र कम सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन्। यो रोग प्रायः मध्य र पश्चिम अफ्रिकी देशहरूका उष्ण तटीय वर्षा वननजिक रहेका दुर्गम भेगहरूमा पाइन्छ।
त्यहाँ यो भाइरसका पश्चिम अफ्रिकी र मध्य अफ्रिकी गरी दुई वटा प्रकार छन्। अफ्रिकाबाट नै यो भाइरस अन्यत्र फैलिएको बताइने गरेको छ। गत वर्ष युरोपमा यसको सङ्क्रमण देखिएपछि यो भाइरसबारे अलि व्यापक रूपमा चर्चा हुन थालेको हो। नेपालको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार हालसम्म १११ देशमा यो भाइरस देखिइसकेको छ। यद्यपि हालसम्म यो सङ्क्रमण विश्वव्यापी चासोको जनस्वास्थ्य आपत्कालको अवस्थामा छैन। एकजना सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुनका अनुसार सङ्क्रमणका प्रारम्भिक लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु पर्छन्।
एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ। त्यस्ता डाबरहरू अत्यन्तै चिलाउने हुन सक्छन्। डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ। सङ्क्रमणका कारण भएको घाउ १४ देखि २१ दिनसम्म रहन्छ र सामान्यतया आफैँ हराउँछ। मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन। तर सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ। यो भाइरसको सङ्क्रमण रोक्नको निम्ति बिफरविरुद्धको खोप ८५ प्रतिशत प्रभावकारी साबित भएको छ। त्यसैले अझै पनि उक्त खोपको प्रयोग गरिन्छ।
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
