एजेन्सी: तीज नेपाली महिलाको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो, जसको आरम्भ पौराणिक कथासँग जोडिएको छ । मान्यताअनुसार देवी पार्वतीले भगवान् शिवलाई पति स्वरूप प्राप्त गर्न कठोर व्रत र तपस्या गरेको स्मरणमा तीजको परम्परा स्थापित भयो ।
परम्परागत रूपमा तीज महिलाको भेटघाट, सामूहिक गीत-नृत्य र माइती परिवारसँग पुनर्मिलनको अवसर पनि हो । ग्रामीणदेखि सहरीसम्म यसको महत्त्व रहँदै आएको छ ।
धार्मिक मान्यताअनुसार व्रत बस्ने, शिव–पार्वतीको पूजा गर्ने ,शिव मन्दिर दर्शन र भक्ति गीत, भजन गाउने गरिन्छ ।
धार्मिक मात्र होइन, सांस्कृतिक पर्वको रूपमा धूमधामसँग मनाइन्छ । चेलीले आफ्ना मनका तीतामीठा भावना समेटिएका गीत गाउने, मादल, ढोलकको तालमा लोकगीतमा नृत्य गर्ने, दर खाने र एक–अर्कालाई शुभकामना दिने प्रचलन छ ।
तीज पर्वले सामाजिक सन्देश दिने काम पनि गरेको हुन्छ । गीतको भावमा सामाजिक विकृति, विसंगति, विभेदविरुद्धका आवाज समेटिएका हुन्छन् । २०४६ भन्दा पहिले देशको सामन्ती सत्ताविरुद्ध बुलन्द आवाज उठाउने भनेका महिला थियौँ । दल प्रतिबन्धित थिए ।
राजनीतिक दलका विचार सिद्धान्त जनतामाझ लैजाने माध्यम तीजका गीत, दशैंको पुनर्मिलनमा सांस्कृतिक कार्यक्रम, तिहारको भैलो, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको माध्यमबाट दलका विचार राखिन्थ्यो । तीजमा पनि सार्वजनिक स्थलमा गीत र नाचबाट प्रतिष्पर्धा हुन्थ्यो । विचार तिखारिन्थे । गीत रचना हुन्थे, पुस्तक प्रकाशन गरी गाइन्थ्यो । दर खाने भनेको तीजको अघिल्लो दिन मात्र हुन्थ्यो । दर खाने दिनको विशेष महत्त्व हुन्थ्यो । तीजमा आमाले पकाउने परिकारको महत्त्व भिन्दै थियो । झिनिया, अनदीका चामलको घिउ राखेर पकाउने खाजा र दूधको खवा, दही, तामाजस्ता चिज अनिवार्य हुन्थे ।
आमा बाबा, दाजु, भाउजू, श्रीमान्, सासुससुरा, देवर–नन्द, अमाजु–जेठाजु, जेठानीका मायाप्रेम, हेलाहोचोलाई दिदीबहिनी, साथीका माझ कला, गला र अभिनयबाट व्यक्त गरिने हुनाले नारी एकताको पर्व पनि हो । पारिवारिक जमघट र प्रेम, आपसी सहयोग र सांस्कृतिक निरन्तरता हो । परम्परागत भेषभूषामा सजिएर रातो सारी, हरियो रातो चुरा, पोतेमा नारी सौन्दर्य र संस्कारको प्रतीक मानिँदै आएको छ ।
परम्परादेखि महिलाको पर्व मानिँदै आए पनि अहिले महिला पुरुषको साझा पर्व बनेको छ । दर खान पनि दुवै जाने, मादलमा सहयोगी बन्दै आएकोमा दाजुभाइ गाउने, नाच्ने, रमाउने चलन आएको छ । त्यो राम्रो पक्ष हो । के पुरुष के महिला समानताको बाटोमा समाज जाँदैछ । जानुपर्छ । तर, आजकल तीजको मौलिकता, सामाजिक मूल्य मान्यता र अनुशासन अलिक फितलो बन्दै गएको छ । स्वतन्त्रतासँगै अनुशासन कायम राख्नुपर्छ ।
प्रायः गीत व्यावसायिक हुने क्रम बढ्दो छ । व्यवसायीकरणको दबाबले ब्राण्डेड लुगा, महंगो गरगहना र भोज महोत्सवले मौलिकता छोप्ने खतरा देखिएको छ । साउने संक्रान्तिको दिनबाट नै दरको नाममा मासु, चिउरा, पेय पदार्थ त्यो पनि पार्टी प्यालेसमा हुनाले प्रगतिशील, चेतनामूलक र विचारका गीत सुनिन छोडेछन् ।
लामो समय विचारको नेतृत्व गर्दै आएको व्यक्ति वा पुस्तालाई दरसँगै विचार हराएको महसुस भएको आमा, दिदी, भाउजूको गुनासो सुनिन थालेको छ । हरेक दर जाने कार्यक्रममा डेक घन्किएपछि ताल आउने व्यावसायिक कलाकारका जस्ता शब्द भए पनि नाच्ने तर गाउन बजाउन अल्छी मानेको देखियो ।