Gen-z आन्दोलन : गोलीले उडायो कमलको बोली

एजेन्सी: राजनीतिक अस्थिरता, भ्रष्टाचार, कुशासनविरुद्ध भएको जेन-जी आन्दोलनको घाउ आम नेपालीको मनमा आलै छ । देशको अवस्था फेर्ने सपना देखेर हजारौँ युवाहरु जीवनमै पहिलोपटक सडकमा उत्रिए ।

भदौ २३ र २४ गते भएको उक्त आन्दोलनमा ७५ जनाले ज्यान गुमाए । २ हजारभन्दा बढी घाइते भएकोमो धेरै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । केहीको अवस्था गम्भीर भएकाले अहिले पनि अस्पतालको शय्यामा छन् । तिनैमध्ये एक हुन्- कमल घिमिरे ।

बेथानचोक गाउँपालिका–३ काभ्रे घर भएका घिमिरे सिनामंगलस्थित केएमसी अस्पतालको आईसीयूमा छन् । आन्दोलन भएको एक महिना पुग्दा पनि उनी अस्पतालको शैयाबाट उठ्न सकेका छैनन् । कमललाई नयाँ बानेश्वरस्थित संघीय संसद भवनको प्रमुख द्वारमा गोली लागेको थियो । पेटको दायाँपट्टी गोली लाग्दा ढाडतिरको पुरै भाग क्षतविच्छेद भएको छ । टाँका लगाएर जोड्दा पनि बिचको भाग ह्वाङ्ग खाली नै छ । ढाडका केही हड्डीहरु बाहिरै देखिएका छन् । बेडबाट उठ्न समेत उनलाई सकस परिरहेको छ ।

लाखौँ ऋण निकालेर भक्तपुरमा गाई फार्म चलाइरहेका कमल जेन-जी आन्दोलनमा युवा आवाजको सारथि बन्न गएका थिए, तर उनी आफैँ अहिले आवाजविहीन भएका छन् । आफन्त र घरपरिवारसँग इशारा, कपीमा लेखेर कुरा गर्न बाध्य छन् । चिकित्सकले आवाज फर्किनसक्ने बताएकाले अलिकति राहत मिलेको छ परिवारजनलाई ।

बुढा आमाबुबा र भाइ-बहिनीको सहाराको रूपमा रहेका कमललाई अहिले भविष्यको चिन्ताले सताएको छ । र, त्योभन्दा बेसी देशको चिन्ताले पिरोलिएका छन् । सुशासनरहित देशको विकास भएको हेर्न चाहने हुटहुटी मरेको छैन ।

नेपाल प्रेससँग उनले इसारामा कुरा गर्दै भने, ‘युवाहरुका लागि स्वदेशमै रोजगारी सिर्जना होस् । सुशासनसहित देशको विकास होस् र यस्ता आन्दोलन दोस्रो चोटी नदोहोरियोस् । देश र जनताको हितमा हुनेगरी असलन नेतृत्वले शासन गरोस् ।’

घरको जेठो छोराको अवस्था देख्दा आमा र बुबा अझै पनि बेला बेला मुर्छित हुने गरेको कमलका काका प्राणनाथ अधिकारी बताउँछन् । कमलका आमाबुबा बिहान छोरालाई हेर्न आउँछन् । उनीहरुको अवस्था देखेर चाँडै घर पठाउने गरेको प्राणनाथको भनाइ छ।

कमल घरको जेठा छोरा हुन् । घरमा आमा र बुबालाई उनले नै हेर्थे । जेनजी आन्दोलनमा कमललाई गोली लागेको खबर थाहा पाएपछि उनका आमाबुबा कहालिँदै अस्पताल आएका थिए । अहिले पनि उनीहरु सामान्य अवस्थामा फर्किन सकेका छैनन्।

‘म आफैँले हेरिरहेको छु । कमलका आमाबुबा बिहान हेर्न आउनुहुन्छ, उहाँहरुलाई छिट्टै पठाइदिन्छु,’ उनले भने ।

अस्पतालको गेटमै सीपीआर दिएर कमलको ज्यान बचाइएको उनले सुनाए ।

अधिकारीले भने, ‘कमललाई ल्याउनेबितिक्कै अस्पतालको गेटमै उनलाई एकजनाले सीपीआर दिएको हो । डाक्टरले बचाउन सक्छौँ भन्ने आश मारिसकेका थिए । डाक्टरको कुराले त हामीलाई पनि बाँच्ने आशा थिएन । मैले त औषधी ल्याउन पनि आनाकानी गरेँ । तर अहिले आश पलाएको छ ।’

छोराको अवस्था गम्भीर भएकाले जिन्दगीभर दुःख झेल्नुपर्नेमा प्राणनाथ चिन्तित छन् । कमलको हेरचाहका लागि उनी रातदिन खटिएका छन् । कमलको घाउ भरिन ३–४ महिना समय लाग्ने भएकाले डिस्चार्ज चाँडै मिल्ने सम्भावना नभएको उनले सुनाए ।

कमलले चलाएको गाई फार्मको सबै जिम्मेवारी उनका आमाबुबाको थाप्लोमा सरेको छ। प्राणनाथका अनुसार कमलको परिवारले ५० लाख ऋण निकालेर गाई फार्म चलाएका हुन् । कमलले नै गाईका लागि खानादेखि दूध सप्लाई गर्थे । अहिले उनी अस्पतालमा भएपछि सबै लठिभद्र भएको छ । अब ऋण कसरी तिर्ने भन्ने पिरले परिवारजन सताइएका छन् ।

कमलको उपचार खर्च अभियन्ता र आफन्तको सहयोगले गरिरहेको प्राणनाथले सुनाए ।

‘दिन–दिनै औषधीको लामो लिस्ट आउँछ । अस्पतालको खर्चभन्दा औषधीको खर्च बढी आउँछ । अहिले आफन्तले नि सानोतिनो सहयोग गरिरहेका छन् । अभियान्ताले पनि अस्पतालमै आएर सहयोग गरिरहेका छन् । त्यसैले खर्चको जोहो भइरहेको छ,’ अधिकारीले भने ।

दशकौँदेखि सत्ताकै वरिपरि रहेका नेताहरुको पदच्यूत गरेको जेनजी आन्दोलनलाई प्राणनाथले पनि समर्थन गरेका थिए ।

उनी भन्छन्, ‘जनेजीहरुले आन्दोलन गरेर ठिक गरेको हो । दशकौँ सत्ताकै लागि घुुमिरहन्थ्ये । जेनजीहरुले सत्ता नै पल्टाए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *