भक्तपुर बोडे कृषि तालिम केन्द्रस्थित होल्डिङ सेन्टरमा १५ बालबालिका विद्यालय जानका लागि सखारै तयार हुन्छन् । बिहान खाजा खाइवरी ८ बजेसम्म उनीहरूलाई विद्यालय छाड्नका लागि सरकारी गाडी आइपुग्छ । तर उनीहरू जानुपर्ने विद्यालयको दूरी भने नजिक छैन ।
पुनमदेवी पासवानका कान्छा छोरा ७ वर्षीय आर्यन बल्खुस्थित जनविकास माविमा पढ्छन् । बोडेबाट त्यहाँसम्मको दूरी १५ किलोमिटरभन्दा बढी छ । ‘त्यहाँ गाडीमा नै डेढदेखि दुई घण्टामा पुग्ने रहेछ । बेलुका आइपुग्दासम्म थाकिसकेको हुन्छ,’ पुनमदेवीले भनिन् । उनको अर्को छोरा १२ वर्षीया श्यामलगायत ३ जना बालबालिका भीमसेनस्थानस्थित परोपकार आदर्श माध्यमिक विद्यालयमा पढ्छन् । त्यहाँसम्म पुग्न पनि गाडीमा करिब डेढ घण्टा लाग्छ ।
२७ असारसम्म पुनमदेवीको परिवार कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा थियो । त्यतिन्जेलसम्म श्यामलगायत ३ बालबालिका परोपकार आदर्श माध्यमिक विद्यालय हिँडेरै आउजाउ गर्थे । पैदल उनीहरूलाई पुग्न मात्र १ घण्टाभन्दा बढी लाग्थ्यो । काठमाडौं महानगरपालिकाले प्याब्सनसँग समन्वय गरेर उक्त स्कुलमा आवासीय सुविधासहित भर्ना गरे पनि उनीहरूले न आवासीय सुविधा पाएका थिए न गाडीको । २७ असारमा होल्डिङ सेन्टरमा बाढी पसेपछि ७७ जनालाई भक्तपुरस्थित खरिपाटी र ६० जनालाई बोडेस्थित होल्डिङ सेन्टरमा सारियो ।
२८ असारमा विस्थापित सुकुमवासीलाई भेट्न गृहमन्त्री सुधन गुरुङसहित ६ मन्त्री खरिपाटी पुगेका थिए । उनीहरूलाई आश्वासन दिने क्रममा मन्त्री गुरुङले बालबालिकालाई विद्यालय जान गाडीको व्यवस्था सरकारले गर्ने बताएका थिए । सोहीअनुसार सरकारले खरिपाटी र बोडेको होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई अहिले गाडीको व्यवस्था त गरेको छ । तर उनीहरूलाई विद्यालय आउन–जान गाडीमा नै धेरै समय लाग्ने भएकाले अर्को सास्ती थपिएको छ । नागार्जुनस्थित इचंगुनारायण होल्डिङ सेन्टरमा रहेका बालबालिका भने दुई साता विद्यालय जानबाट वञ्चित भए । मंगलबारबाट विद्यालय जाने वातावरण बने पनि उनीहरू आधा घण्टाको बाटो हिँड्नुपर्छ ।
बोडेको होल्डिङ सेन्टरबाट बिहान ८ बजे हिँड्दा बालबालिका दुई गिलास दूधको भरमा जाने पुनमदेवी बताउँछिन् । ‘स्कुलमा दिउँसो मात्र खाजा दिइन्छ, खाना दिइँदैन । उनीहरूले दिनभरि भोकै बसेर बेलुका मात्र एक छाक खाना खान्छन् । कहिलेकाहीँ त भोक लाग्यो र गाह्रो भयो भनेर छोराहरू गुनासो गर्छन्,’ उनी सुनाउँछिन् ।
You may also like
-
परिवर्तनका वाहक’ को रूपमा प्रधानमन्त्री बालेन्द्र शाहको छवि जोखिममा
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
-
दुई लाख बालबालिका शीघ्र कुपोषणको जोखिममा, नयाँ दाता खोज्ने सरकारी प्रयास असफल
-
अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी के छ ?
