कोशी सरकारबाट बाहिरिँदै कांग्रेस, मन्त्रीहरूको राजीनामा आजै

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरिने भएको छ । एमाले-नेकपाबीचको सहकार्यपछि कोशीबाट कांग्रेस बाहिरिएको हो । पार्टी केन्द्रको निर्णयअनुसार सरकारमा सहभागी कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाउँदै छन् । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार सरकारबाट बाहिरिने निर्णयअनुसार मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् । कांग्रेसका मन्त्रीहरूलाई बुधबारसम्म राजीनामा दिन पार्टीले निर्देशन दिएको थियो । सोहीअनुसार मुख्यमन्त्री कार्कीले कांग्रेसका मन्त्रीहरूलाई बिदाई गर्न बुधबार ३ बजे  मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मनबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए । 

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार २०८१ भदौ २ गते कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी भएको थियो । त्यसपछि दोस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा २०८२ पुस २२ गते कांग्रेसका मन्त्रीहरू नियुक्त भएका थिए ।

कांग्रेस सरकारबाट बाहिरिएपछि कोशी प्रदेशमा एमाले-नेकपाबीचको नयाँ राजनीतिक समीकरण बन्दैछ । कांग्रेस बाहिरिएसँगै चाँडै नयाँ मन्त्रीमण्डल गठनको गृहकार्य सुरु भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *