सीके राउतको प्रश्न- ‘ग्यास पाइँदैन, बिजुलीमा कर लगाइन्छ, जनता कति दिन भोकै बस्ने ?’

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्‌जस्ता आधारभूत आवश्यकतामा कर लगाएर जनतालाई थप सास्ती दिएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा ‘डेडिकेटेड तथा ट्रंकलाइन’को बक्यौता महसुल उठाउन र विद्युत्‌मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै सुरु गरिएको बृहत् हस्ताक्षर अभियानमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष राउतले इतिहासमै पहिलोपटक वर्तमान सरकारले शिक्षा र स्वास्थ्यका साथै विद्युत्‌जस्तो संवेदनशील क्षेत्रमा ५ प्रतिशत भ्याट लगाएको भन्दै आलोचना गरे ।

‘जुनसुकै सरकार आए पनि शिक्षा, स्वास्थ्य र विद्युत्‌मा सहुलियत दिने वाचा गर्थे, तर यो सरकारले तिनै आधारभूत कुरामा कर थोपरेको छ । विद्युतमा कर बढ्दा होटल, स्टुडियो, सैलुनदेखि विद्युतीय सवारी (ईभी) चार्ज गर्नेसम्मका सबै क्षेत्रमा महँगी बढेको छ,’ उनले भने, ‘एकातर्फ ग्यास पाइँदैन, अर्कातर्फ बिजुलीमा कर लगाइन्छ । जनता भोकै कति दिन बस्न सक्छन् ? यो अवस्थाले ठूलो विद्रोह निम्त्याउन सक्छ ।’ लोडसेडिङ अन्त्य गरेर प्रमाणित गरिसकेका व्यक्तिहरू देशमा हुँदाहुँदै र १ हजार मेगावाट विद्युत् खेर गइरहेको अवस्थामा पनि सरकारले व्यवस्थापन गर्न नसक्नु अक्षमता भएको उनले टिप्पणी गरे।

कार्यक्रममा उनले ‘उज्यालो नेपाल’का संवाहक कुलमान घिसिङको योगदानको चर्चा गर्दै सरकार चलाउने ढंग नभए विकल्प दिन आफूहरू तयार रहेको समेत बताए । कर फिर्ता नगरे सरकारले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीको कार्यशैलीका बारेमा टिप्पणी गर्दै उनले प्रधानमन्त्रीलाई आफ्नै दल, कर्मचारी संयन्त्र र सल्लाहकारहरूबाट सहयोग नभएको र उनी घेराबन्दीमा परेको जस्तो देखिएको बताए । ‘यस्तो तालमेल नमिल्ने अवस्थामा एक्लैले चमत्कार गर्न सकिँदैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *