भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान

काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् ।
नेपाल र भारतबिच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा अनुसार सेठलाई उक्त सम्मान गरिएको हो। तीन दिने नेपाल भ्रमणका लागि सेठ आइतबार अपराह्न काठमाडौँ आइपुगेका थिए।
उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवम् नेपालका लागि भारतीय राजदूतको उपस्थिति रहेको थियो।
सेठले नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणमा नेपाल भ्रमणमा रहेका सेठले जंगी अड्डामा एक कार्यक्रमबिच स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
त्यसअघि भारतीय स्थल सेनाध्यक्ष सेठले नेपाली सेनाको मुख्यालय जंगी अड्डा परिसरमा वृक्षारोपण गरेका थिए।
जङ्गी अड्डामा प्रधानसेनापति सिग्देलसँग शिष्टाचार भेटघाट गरेका सेठले त्यसअघि सैनिक मञ्च टुँडिखेलमा माल्यार्पण गरे। उनलाई जंगी अड्डामा गार्डअफ अनर प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *