भोटेकोशी बाढीले पर्यटनमा ५२ अर्ब ६७ करोडको क्षति

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार पाँच सय रुपियाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको अनुमान छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी छलफलमा नेपाल पर्यटन बोर्डको द्रुत प्रतिकार्य टोलीका संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले प्रस्तुत गर्नुभएको प्रारम्भिक प्रतिवेदनमा यो आँकडा प्रस्तुत गरिएको हो ।
क्षतिग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान तथा भविष्यमा हुने विपत्का लागि पूर्वतयारीलाई व्यवस्थित बनाउन पुनरुत्थानको मसौदा तयार गर्ने जिम्मेवारीसमेत सम्बन्धित समितिलाई दिइएको छ ।
प्रतिवेदन अनुसार बाढीपहिरोबाट विशेष गरी रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका क्षेत्रमा पर्यटन पूर्वाधार, होटेल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठुलो क्षति पुगेको छ ।
क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटेल व्यवसायमा भएको छ । होटेल क्षेत्रमा १९ अर्ब ५६ करोड चार लाख ४८ हजार, वैदेशिक पर्यटन आम्दानीमा १४ अर्ब ६० करोड २४ लाख ६४ हजार तथा मानव बल एवं पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड ८४ लाख २४ हजार पाँच सय रुपियाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधारतर्फ एक अर्ब ६६ करोड ४० लाख, सवारीसाधनतर्फ एक अर्ब ५१ करोड ४० लाख ८० हजार, रेस्टुरेन्टतर्फ एक अर्ब ३८ करोड ५० लाख २० हजार र लामटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ एक अर्ब २७ करोड ६४ लाख ४० हजार रुपियाँ बराबरको क्षति भएको आकलन गरिएको छ ।आन्तरिक पर्यटन राजस्वमा १९ करोड ८७ लाख, र्‍याफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा पाँच करोड रुपियाँ बराबरको प्रारम्भिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
बाढीपहिरोमा एक हजार ११७ नेपाली र विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ३१० जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना सम्पर्कमा आएका छन् । हालसम्म ७९४ जना सम्पर्कविहीन रहेकोमा ६०६ जना विदेशी र १८८ जना नेपाली रहेको जनाइएको छ । उद्धार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला छन् ।
घटना भएको करिब एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलास–मानसरोवर टुर अपरेटरसँग समन्वय गरी खोज तथा उद्धार कार्य सुरु गरिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले जानकारी दिए ।
प्रतिवेदनमा विपत्पछिको पर्यटन पुनरुत्थानलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्र सीमित नगरी भविष्यमा देखिन सक्ने जलवायुजन्य जोखिमलाई समेत ध्यानमा राखेर सुरक्षित तथा दिगो पर्यटन प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
वरिष्ठ निर्देशक ऐरले रसुवा क्षेत्रलाई दीर्घकालीन रूपमा क्लाइमेट हेरिटेजका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको जानकारी दिए । उनले सङ्कटका समयमा प्रभावकारी समन्वय र शीघ्र प्रतिकार्यका लागि बोर्डमा चौबिसै घण्टा सञ्चालन हुने क्राइसिस सेल तथा क्युआरटीलाई निरन्तरता दिनुपर्ने र त्यसका लागि वार्षिक एकदेखि पाँच करोड रुपियाँसम्म बजेट व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आगामी विपत्का समयमा प्रभावकारी समन्वय, शीघ्र प्रतिकार्य तथा पर्यटन क्षेत्रको पुनरुत्थान प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुनरुत्थानको योजना मसौदा तयार गर्ने थप जिम्मेवारी सम्बन्धित समितिलाई दिए ।
मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको शीघ्र उद्धार तथा क्षतिग्रस्त पर्यटन पूर्वाधारको पुनर्निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको बताए । उनले नेपाल पर्यटन बोर्ड तथा निजी क्षेत्रसँगको सहकार्यमा तयार हुने संयुक्त कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी पर्यटकीय सिजनअघि प्रमुख गन्तव्यमा सुरक्षा, सञ्चार तथा यातायात पहुँच पुनस्र्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *