नेपाली कांग्रेसले पार्टीको पदाधिकारी संख्या बढाउने प्रस्ताव १५औँ महाधिवेशनको बन्दसत्रमा पेस गर्ने निर्णय गरेको छ।
नयाँ संरचनाअनुसार वरिष्ठ उपसभापतिको पद सिर्जना गर्दै उपसभापति ४, महामन्त्री ३ र सह(महामन्त्री १५ जना बनाउने प्रस्ताव गरिएको छ।
खुलामञ्चमा बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले विधान संशोधनसम्बन्धी प्रस्तावसहित पदाधिकारीको संख्या बढाउने प्रस्ताव बन्दसत्रमा निर्णयार्थ पेस गर्ने निर्णय गरेको हो।
नयाँ संरचनाअनुसार एक जना वरिष्ठ उपसभापतिसहित चारजना उपसभापति रहनेछन्। हाल दुईजना उपसभापति रहने व्यवस्था छ । अब त्यसलाई बढाएर चार पुर्याउन लागिएको हो। वरिष्ठ उपसभापतिको नयाँ पद सिर्जना गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, महामन्त्रीको संख्या दुईबाट बढाएर तीन पुर्याउने प्रस्ताव छ। तीनैजना महामन्त्री निर्वाचित हुने तथा कम्तीमा एकजना महिला अनिवार्य हुने व्यवस्था प्रस्ताव गरिएको छ।
सह–महामन्त्रीको संख्या पनि ११ बाट बढाएर १५ पुर्याउने प्रस्ताव गरिएको छ। १५ सह(महामन्त्रीमध्ये दुई जना खुलातर्फ र बाँकी समावेशी समूहबाट रहने प्रस्ताव छ। समावेशीतर्फका सह(महामन्त्री सभापतिले मनोनयन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
यो संरचना पारित भए कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिमा कुल २१ जना पदाधिकारी जना पुग्ने भएका छन्।
पदाधिकारी संख्या विस्तारको प्रस्तावलाई कांग्रेसभित्र शक्ति सन्तुलन र नेतृत्व व्यवस्थापनसँग जोडेर हेरिएको छ।
विशेषगरी वरिष्ठ उपसभापतिको नयाँ पद सिर्जना गर्ने प्रस्तावबाट विश्वप्रकाश शर्मालाई वरिष्ठ उपसभापतिको भूमिकामा लैजाने बाटो खोल्ने देखिएको छ। यद्यपि, बन्दसत्रबाट विधान संशोधन पारित भएपछि मात्रै प्रस्तावले अन्तिम रूप पाउनेछ।
राजनीतिक प्रस्ताव पनि पारित
केन्द्रीय कार्यसमितिले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव पनि बन्दसत्रमा पेस गर्ने गरी पारित गरेको छ।
प्रवक्ता देवराज चालिसेका अनुसार प्रस्तावमा आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक कार्यदिशासहित सरकार, देशको समग्र अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध र पार्टीको दृष्टिकोण समेटिएको छ।
लोकतान्त्रिक संस्थालाई सबल बनाउनु आगामी दिनको प्रमुख चुनौती रहेको उल्लेख गर्दै कांग्रेसको मूल सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै रहेको प्रस्तावमा जोड दिइएको छ।
आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने नीति पनि प्रस्ताव गरिएको छ।
नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउन सकिने अवधारणा अघि सारिएको चालिसेले बताए।
विधानमा तल्लो तहमा पनि पद थप्ने प्रस्ताव
महामन्त्री प्रदीप पौडेलले पेस गरेको पार्टी सञ्चालन तथा विधानसम्बन्धी प्रस्ताव पनि बैठकले अघि बढाएको छ।
प्रस्तावमा पार्टीको निर्णय प्रक्रिया, विभिन्न तहको जिम्मेवारी तथा सांगठनिक संरचनालाई व्यवस्थित गर्ने विषय समेटिएको छ। नयाँ विधानको प्रारम्भिक खाकामा वडा, क्षेत्र र जिल्ला तहमा समेत थप पद सिर्जना गर्ने प्रस्ताव गरिएको छ।
तर यी सबै प्रस्ताव प्रारम्भिक खाका मात्रै भएको प्रवक्ता चालिसेले स्पष्ट पारे। १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्ताव पेस भएपछि प्रतिनिधिहरूले पारित गरे मात्र विधान संशोधनले अन्तिम रूप पाउनेछ।
केन्द्रीय कार्यसमितिको बैठकसँगै गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल पनि औपचारिक रूपमा टुंगिएको छ।
अब बन्दसत्रबाट राजनीतिक, विधान तथा समसामयिक प्रस्ताव टुंग्याएपछि कांग्रेस नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नेछ।
