चक्रवातबाट लुम्बिनीका सात जिल्ला प्रभावित हुने अनुमान

अर्नब चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला बढी प्रभावित हुने पूर्वानुमान गरिएको छ । बंगालको खाडीमा विकसित अर्नब चक्रवातको कारण लुम्बिनी, रुकुम पूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बढी प्रभावित हुने लुम्बिनी प्रदेश सरकारले जनाएको छ। यी जिल्लामा भारी वर्षा,चट्याङ र हावाहुरीको जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको हो ।
आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर कात्तिक १३ र १४ गते बढी प्रभावित हुन सक्ने अनुमान समेत गरेको छ । नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै मन्त्रालयले उक्त सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।
प्रभावित जिल्लाका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ । यसबाट नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै सडक र हवाई यातायात समेत प्रभावित हुन सक्ने मन्त्रालयले जनाएको छ ।
सम्भावित जोखिम न्यूनीकरणका लागि मन्त्रालयले कात्तिक १२ गतेअघि नै धानबाली काट्ने र भित्र्याउने काम सम्पन्न गर्न किसानलाई आग्रह गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि अनुरोध गरिएको छ ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचना प्रणालीबाट प्राप्त जानकारी नियमित रूपमा लिन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्ति तथा परिवारलाई आवश्यकताअनुसार विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तह,जिल्ला सुरक्षा समिति,सुरक्षा निकाय तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन मन्त्रालयले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *