‘एसिया प्यासिफिक स्क्रिन अवार्ड्स’मा पुष्पालाई उत्कृष्ट अभिनयको अवार्ड

नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ की प्रमुख अभिनेत्री पुष्पा लामाले अस्ट्रेलियाको गोल्ड कोस्टमा आयोजित प्रतिष्ठित ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड्स’को १९औं संस्करणमा उत्कृष्ट अभिनयतर्फको अवार्ड जितेकी छन्। एसिया(प्रशान्त क्षेत्रका ७८ भन्दा बढी देश र क्षेत्रहरूको सहभागिता रहने यो फेस्टिभल प्रतिष्ठित मञ्च हो ।
अन्तर्राष्ट्रिय मञ्चमा ख्याति कमाउँदै आएको यो फिल्मले यसअघि विश्वकै प्रतिष्ठित ७९औं कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’विधा अन्तर्गत ऐतिहासिक ‘जुरी प्राइज’ जितिसकेको छ।
कान्सको इतिहासमा कुनै पनि नेपाली फिल्मले मुख्य वा समानान्तर विधामा यति ठूलो आधिकारिक अवार्ड जितेको यो पहिलो पटक हो। अविनाशविक्रम शाहको‌ लेखन तथा निर्देशन र अनुप पौडेलको निर्माणमा तयार भएको यो फिल्म नेपालमा भने गत भदौमा प्रदर्शन भएको थियो ।
नेपाल, जर्मनी, ब्राजिल, फ्रान्स र नर्वेको सह(उत्पादनमा बनेको यो फिल्ममा पुष्पाले किन्नर समुदायकी ‘पिरती’ नामक केन्द्रीय चरित्रलाई पर्दामा जीवन्त रूपमा उतारेकी छन् ।
अवार्ड पाएपछि खुसी व्यक्त गर्दै अभिनेत्री लामाले यो सम्मान आफ्ना लागि जीवनभरको विशेष कोशेढुंगा भएको बताइन्। उनले भनिन्, ‘यो सम्मान पाउनु मेरा लागि ठूलो गौरवको विषय हो, जसले मलाई ‘पिरती’ को चरित्रसँग सदाका लागि जोडिदिएको छ ।’
त्यस्तै, निर्देशक अविनाशविक्रम शाहले पनि सामाजिक सञ्जालमा खुसी साट्दै चार वर्षको निर्माण यात्रामा पुष्पाले दिएको साथ र देखाएको इमानदारी सधैं अविस्मरणीय रहने बताए । उनले भने, ‘पिरतीलाई पर्दामा जीवन्त बनाउने क्रममा उहाँले देखाउनुभएको संवेदनशीलता, साहस र इमानदारी हाम्रा लागि सधैँ विशेष रहनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *