गुलरिया नगरपालिका–३ खैरीकी आशा कुमारी थारुले विगत चार वर्षदेखि सयपत्री फूलखेती गर्दै आएकी छन्। उनले एक बिघा ९२० कठ्ठा० जग्गामा सयपत्री लगाएकी छन् ।
यसपालि तिहारमा जिल्लामै फूलको माग धान्न उनलाई हम्मेहम्मे पर्यो । अन्य वर्ष चितवन, सुर्खेत, नेपालगन्ज, कैलालीको टीकापुर र महेन्द्रनगरसम्म फूल पठाउने गरेकी उनी यस वर्ष भने अन्य जिल्लाबाट अर्डर आए पनि पुर्याउन सकिनन् । फूल लिन ग्राहक खेतबारीमै आएर आफूले रोजेर टिप्दै लगे ।
‘यसपालि धेरै ग्राहक फूल लिन खेतमै आए । ढकमक्क फुलेको सयपत्री खेतीमा टिकटक बनाएर रमाए, आफूले रोजेर फूल पनि किनेर लगे,’ उनले भनिन्, ‘यसपालि जिल्लामै फूल खपत भएकाले अन्य जिल्लामा पठाउन परेन ।’
मंगलबारसम्म खेतबाटै १० क्विन्टल सयपत्री फूल बिक्री भएको उनले बताइन् । ‘पहिला तोरी, मुगफली र मकै खेती गर्थ्यौं,’ उनले भनिन्, ‘छोरीकै पहलमा फूलखेती सुरु गरेका हौं । पहिलो वर्ष चार कठ्ठामा मात्रै सयपत्री लगाएका थियौं । अन्य खेतीभन्दा फूलखेतीबाट राम्रो आम्दानी भएपछि निरन्तरता दिइरहेका छौं ।’ उनले प्रतिकिलोग्राम चार सय रुपैयाँमा फूल बिक्री गरिरहेको बताइन् ।
‘गत वर्ष दुई लाख ५० हजार रुपैयाँको सयपत्री फूल बिक्री गरेका थियौं,’ उनले भनिन्, ‘फूल लामो समयसम्म सुरक्षित राख्न कोल्डस्टोर नहुँदा समस्या भइरहेको छ । बाँकेको कोहलपुरमा फूल राख्ने कोल्डस्टोर छ । त्यहाँ लैजान र ल्याउन भाडामै बढी खर्च हुन्छ ।’
वार्षिक प्रतिकठ्ठा एक हजार रुपैयाँका दरले एक बिघा खेत लिजमा लिएर फूलखेती गरिरहेको आशाका श्रीमान् रामचरण थारुले बताए । ‘चितवनबाट २० हजार रुपैयाँमा एक सय ग्राम ‘टेनिस बल’ जातको सयपत्री फूलको बीउ ल्याएर बेर्ना तयार गरी रोपेका थियौं,’ उनले भने, ‘बेर्नासमेत बिक्री गर्यौं ।’
गत वर्ष खुद्रामा प्रतिकिलोग्राम ५ सय ५० रुपैयाँ र थोकमा ३ देखि ४ सय रुपैयाँमा फूल बिक्री भएको थियो । यस वर्ष दसैंमा गुलरिया र नेपालगन्जमा गरी दुई क्विन्टल फूल बिक्री गरिसकेको उनले बताए । एक बिघामा फूलखेती गर्न बीउ, मल, जल र खेती लगाउने ज्यालासमेत गरी एक लाख रुपैयाँ खर्च लागेको उनले जानकारी दिए ।
‘हालसम्म दसैं र तिहारलाई लक्षित गरेर मात्रै फूलखेती गरिरहेका छौं,’ उनले भने, ‘अब अफ सिजनमा पनि फूलखेती गर्ने योजना छ । बजारीकरण र फूल भण्डारण गर्ने कोल्डस्टोरको समस्या भएकाले किसानको फूलखेतीतर्फ खासै चासो छैन ।’
स्वदेशमा पर्याप्त फूलखेती नहुँदा प्रत्येक वर्ष तिहारमा विदेशबाट फूल आयात हुने गरेको छ । स्थानीय सरकारले सहजीकरण गरेर किसानलाई फूलखेतीतर्फ आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।
