सुर्खेतका युवकले कुवेत आएको आठौं दिनमै फ्लाइओभरबाट हामफालेर गरे आत्महत्या


एजेन्सी: कुवेतमा एक नेपालीले फ्लाइओभर (पुल) बाट हाम फालेर आत्महत्या गरेका छन् । सुर्खेत, वीरेन्द्रनगर ४ शिवनगरका हरिबहादुर गौतमले कुवेतको महाबुल्लास्थित २१० नम्बर फ्लाइओभरबाट ३० नम्बर मुख्य सडकमा हाम फालेर ज्यान गुमाएका हुन्

३३ वर्षीय गौतम ८ दिनअघि (अगस्ट १७) मात्रै कुवेतस्थित एक होटलमा सवारी चालकको रूपमा काम गर्न आएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार सोमबार बिहान करिब ७ बजे उनी फ्लाइओभरमा पुगेपछि लगाएका कपडा खोलेर मुख्य सडकतर्फ हाम फालेका थिए । व्यस्त सडक बीचमा खसेका कारण हुइँकिएर आएका गाडीले समेत उनलाई किचेको छ ।

सहकर्मीहरूका अनुसार गौतमको मानसिक अवस्था कमजोर थियो र कुवेत आएको दोस्रो दिनदेखि नै अस्वाभाविक व्यवहार देखाइरहेका थिए । यसबीचमा उनी २-३ दिनसम्म हराएका पनि थिए । मजदुर शिविर छोडेर हराएका उनी पुनः कम्पनीकै शिविरमा फर्किएको सहकर्मीले जानकारी दिएका छन्

घटनाको दिन बिहान सहकर्मीहरूले उनलाई अस्पताल लैजाने तयारी गरेका थिए । तर, अचानक भागेर पुलमा पुगेका उनले कपडा र पर्स छेउमै राखेर पुलमाथिबाट हाम फाले । सडकमा यात्रा गरिरहेकाहरुले उनको अस्वाभाविक गतिविधि देखेर भिडिओ खिच्न भ्याएका छन् ।

कुवेतस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई खबर गरिसकिएको र कम्पनीसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया सुरु भएको जनाएको छ ।

दूतावासका अनुसार हाल कुवेतमा नेपालीको संख्या बढेसँगै आत्महत्या, सडक दुर्घटना, अवैध मदिरा सेवन, लागुऔषधको प्रयोग तथा ओसारपसारजस्ता घटना बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *