एजेन्सी: फ्लाइ नेपा ट्राभल्सले आयोजना गरेको ‘अब सुन्छ अमेरिका’ कार्यक्रम अन्तर्गत अमेरिका भ्रमणमा गएकी गायिका एलिना चौहान चरम असन्तुष्ट बनेर नेपाल फिरेकी छन् । अमेरिका टुरका लागि गएकी एलिनाको साढे दुई महिना लामो अमेरिका बसाई त्यति सुखद भएन ।
उनले भ्रमणका क्रममा आफू र सहकर्मी कलाकारमाथि नोकरजस्तो व्यवहार भएको बताएकी छन् । सामाजिक सञ्जालमा एलिनाले लेखेकी थिइन्, ‘कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो । कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो ।’आफूलाई आयोजकले निकै टर्चर दिएको एलिनाले दुखेसो छ ।
उनले भनिन्, ‘मलाई मात्रै होइन विनोद अधिकारीले धेरै कलाकारलाई टर्चर दिनुभएको रहेछ । खै किन हो उहाँहरु (अन्य कलाकार) बोल्नुभएन, म चाहिँ बोलेँ । कति धेरै कमेडियनहरुलाई पनि टर्चर दिनुभएको रहेछ ।’
विनोद अधिकारी फ्लाइ नेपा ट्राभल्सका संचालक हुन् । अधिकारीले दिएको टर्चरकै कारण आफूले कार्यक्रम बीचमै छाडेर आएको एलिनाले बताइन् । उनले नेपाल प्रेससँग भनिन्, ‘धेरै नै मानसिक टर्चर दिएपछि बाँकी दुईवटा कार्यक्रम नगरी नेपाल फर्किएँ । आफैंले टिकट काटेर आएकी हुँ ।’
कार्यक्रमहरुमा दर्शकबाट महँगो पैसा असुलेर अधिकारीले आफूहरुलाई २० प्रतिशत मात्रै दिने गरेको पनि एलिनाको आरोप छ । ८० प्रतिशत अधिकारीले खाने गरेको प्रमाण आफूले फेला पारेको उनले बताइन् ।
‘विनोद अधिकारीले जाँड खाएर बोल्ने, मुख छाड्ने गर्नुभयो । होटेलमा राख्छु भनेर लग्नुभएको थियो, तर साढे दुई महिनामा क–कसको घरमा राख्नुभयो, भात खुवाउनुभयो, मैले नै बिर्सिएँ । १५ दिन पनि होटेलमा राख्नुभएन,’ एलिनाले दुखेसो पोखिन्, ‘मैले एउटा कलाकारको नाताले आफूले निर्वाह गर्नुपर्ने सबै जिम्मेवारी पूरा गरेँ । तर, उहाँ (विनोद अधिकारी) का कारणले म चार–पाँचपटक नै रोएकी छु । मलाई रुवाएको छ । मेरो नीजि जीवनमा घुसेर पनि यो यस्तै हो भनेर भन्नुभयो । मलाई त्यो मन परेन ।’
आफू नेपाली भाषी रहेका धेरै मुलुकमा पुगेको, तर अधिकारीको जस्तो तुच्छ र घटिया व्यवहारको सामना गर्नु नपरेको एलिनाले बताइन् । अधिकारीविरुद्ध अमेरिकामै कानुनी उपचारमा जानेबारे सोचे पनि समय लाग्ने भएकाले नेपाल फर्किएको उनको भनाइ छ । अधिकारीले ‘अमेरिकामा ब्लक गर्दिन्छु’ भनेर धम्की समेत दिएको पनि एलिनाले बताइन् ।