हितेन्द्रका दुखः प्राधिकरणबाट लखेटिए, घरमा आगजनी


एजेन्सी: विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यको फेरि पुरानै नियति दोहोरिएको छ । उनी छोटो समयमै प्राधिकरणबाट लखेटिएका छन् ।

आफ्ना चिरप्रतिस्पर्धी कुलमान घिसिङ अचानक ऊर्जामन्त्री बनेपछि हितेन्द्रको पद संकटमा परिसकेको थियो । कुलमानले कुनै धैर्यता नराखिकन तत्कालै हितेन्द्रलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरिदिएका छन् । हितेन्द्र कुलमानसँग मिलेर काम गर्ने मुडमा थिए । तर, कुलमानले आफू अनुकूलको कार्यकारी निर्देशक ल्याउन चाहे । फलतः हितेन्द्रलाई जल तथा ऊर्जा आयोगको विशेषज्ञ पदमा थान्को लगाइएको छ ।

नेपाल प्रेससँग संक्षिप्त फोन सम्वादमा हितेन्द्रले चरम नैराश्यता व्यक्त गरे । अब फेरि कानूनी लडाइँ लड्नुहुन्छ कि लड्नु हुन्न भन्ने जिज्ञासामा खुइय गर्दै भने, ‘म थाकेँ हौ… अहिले त केही सोचेकै छैन ।’

हितेन्द्र यति धेरै निराशामा पुग्नुपछाडि प्राधिकरणको कार्यकारी निर्देशकको पद गुमाउनु मात्र कारक होइन । अर्को कारण हो उनको घर आगजनीमा परेर ध्वस्त हुनु । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा हितेन्द्रको ज्वागलस्थित घरमा पनि आगो लगाइयो । त्यसबेला उनी देशबाहिर थिए । परिवारका सदस्यहरु घरमै भएको बेला आक्रमण भएको थियो । उक्त घटनापछि हितेन्द्रकी पत्नी ट्रमामा छिन् ।

हितेन्द्र शनिबार मात्र नेपाल आए । घरको अवस्था देखेर स्तब्ध बनेका उनले आफ्नो फेसबुक प्रोफाइलमै जलेको घरको फोटो राखेका छन् । उनी तत्काल बासस्थानको व्यवस्थापन गर्नुपर्ने तनावमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *