बैतडीका अधिकांश ग्रामीण सडक अवरुद्ध

एजेन्सी: लगातारको वर्षाले बैतडीका अधिकांश सडक अवरुद्ध भएका छन् । वर्षातको समयमा ग्रामीण कच्ची सडकमा सवारीसाधन सञ्चालनमा निकै जोखिम हुने गरेको समेत सवारीचालकहरूले बताएका छन् ।

ग्रामीण कच्ची सडकहरू स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा निकै जोखिम बढेको जिपचालक शेरसिंह कार्कीले बताए । उनले भने, ‘वर्षातको समयमा ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन गर्न निकै समस्या हुने गरेको छ । सडकहरू स्तरोन्नति नहुँदा निकै जोखिम पनि छ ।’

जिल्लाको सतबाँझ–सुर्नया सडकमा स्तरोन्नतिको काम भइरहेको छ । स्तरोन्नति कामको सिलसिलामा सडक चौडा पार्ने काम भइरहेको छ । तर वर्षातको समयमा उक्त सडकको ठाउँठाउँमा पहिरो खस्दा सवारीसाधन सञ्चालनमा निकै समस्या हुने गरेको चालकहरूले बताएका छन् ।

जिल्लाको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने श्रीभावर-हाट सडकखण्डमा पनि अवस्था उस्तै रही आएको छ । वर्षातको समयमा ठूलो बसहरू सञ्चालन गर्न नसकिएको यातायात व्यवसायीले बताएका छन्

जिल्लाको सिगास गाउँपालिकाका विभिन्न वडा जोड्ने ग्रामीण कच्ची सडकमा समेत वर्षातको समयमा सवारीसाधन चलाउन मुस्किल हुने गरेको सवारीचालकहरूले बताएका छन् । देहीमाडौँ-गिरेगडा, सिल्लेगडा-कटौजपानी, मेलौली-पञ्चेश्वरलगायत सडकमा वर्षातको समयमा जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नुपर्ने अवस्था छ । यसका साथै पाटन-सकार-कैलपाल सडक, धर्मघर-सनशेरीमाडौँ सडक, देहीमाडौँ-दुर्गाभवानी सडक, देहीमाडौँ-सुरकाल सडक पनि वर्षाका कारण अवरुद्ध छन् ।

वर्षातले ग्रामीण सडक ठाउँठाउँमा भत्किएकाले जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नु परिरहेको अर्का जिपचालक नरेन्द्र कुँवरले बताए । उनले भने, ‘वर्षाका कारण ग्रामीण सडक हिलाम्मे हुने र पहिरोको समेत डर हुने गरेको छ । जोखिम मोलेर सवारी चलाउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *