उफ, अमनप्रतापको यो रुप !

एजेन्सी: पृष्ठभूमिमा संसद भवन जलिरहेको दृष्य । अराजक भिडमा एक चिरपरिचित अनुहार, जो फेसबुक लाइभमा तथानाम बोलिरहेका छन् । यी हुन् अमनप्रताप अधिकारी ।

अमनप्रतापका धेरै परिचय छन् । उनी नेपालका पूर्व ए डिभिजन फुटबल खेलाडी हुन् । फुटबल जीवनबाट अवकाशपछि उनी कमेन्टेटर र खेलकुद कार्यक्रम प्रस्तोता बने । पछिल्लो समय उनी विभिन्न टिभी रियालिटी शोहरुमा व्यस्त छन् । नेपालको पहिलो साहित्यक रियालिटी शो ‘द पोयट आइडलका उनी परिकल्पनाकार र निर्देशक हुन् । उनले पछिल्लो समय ‘हिमालयन रोडिज’ को होस्ट गरेका थिए ।

यिनै बहुप्रतिभाशाली व्यक्तिको अर्कै रुप नेपालीहरुले गत भदौ २४ मा देखे । त्यसदिन भएको विध्वंसकारी आन्दोलनमा उनी प्रत्यक्षरुपमा संलग्न थिए । बानेश्वरस्थित संसद भवनमा ऐतिहासिक बितण्डा भइरहँदा उनले अपाच्य र अश्लिल शब्दहरुसहित हर्षोल्लास मनाइरहेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो भिडिओ अन्त कतैबाट नभएर अधिकारीकै फेसबुक वालबाट झिकिएको हो । यो समाचार लेख्दासम्म पनि उनको वालबाट भिडिओ हटेको छैन ।

यो भिडिओमा अधिकारीले बोलेका शब्दहरु सिधै उद्वृत गर्नसमेत योग्य छैन । तर एउटा कुरा उनले बारम्बार दोहोर्याइरहन्छन्– देखिस, जल्यो तेरो देश ।

उनले यो भिडिओको क्याप्सनमा लेखेका छन्, ‘दिस इज हाउ संसद भवन वाज टेकन डाउन । (यसरी संसद भवन ढालियो) ।

भिडिओमा अधिकारीले बोलेका केही शब्द

ल हेर अब…संसद भवनभित्र पुरै… सकियो मा…चोर… मु…मा… भुसियाहरु …छोराहरु…नेताको नाममा मु…लुटपाट मा…सकियो हेर त्यहाँ तेरो देश, सकियो तेरो राज्य… को छोरोहरु…अब..सकियो…सबको मालो आउँछ…मु।। चोरी घुसखोरी… जब डढा अब… सबको ज्यान जान्छ मा…हरु…सक्यो… सक्यो… सक्यो….’ ।

अधिकारीले जेनजी आन्दोलनलाई समर्थन गर्दै सुरुदेखि नै स्टाटस र भिडिओहरु हाल्दै आएका थिए । ती अस्वभाविक थिएनन् । तर, यो भिडिओमा अधिकारीको प्रस्तुति र शब्दचयन उनलाई चिन्नेहरुका निम्ति अनपेक्षित हुन् ।

प्रख्यात गीतकार/कवि स्व। क्षेत्रप्रताप अधिकारीका छोरा हुन् अमनप्रताप । स्वयम् पनि कविताको रियालिटी शोका परिकल्पनाकारबाट यस्ता आशा थिएन । पञ्चायत व्यवस्थमा क्षेत्रप्रताप तनहुबाट राष्ट्रिय पञ्चायतको सदस्य समेत भएका थिए । २०४३ सालमा चुनाव जितेपछि क्षेत्रप्रताप शिक्षा राज्यमन्त्री पनि भएका थिए । उनका दुई छोरामध्ये अमन कान्छो छोरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *