एजेन्सी: झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्न लाग्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो
हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष यतिबेला रोपाइँ गरिसकेको बताए । “अघिल्लो वर्ष रोपाइँ सकेर खसिया (रोपाइँ गरेर पुनः उखेलेर रोप्ने) पनि सारिसकेको थिएँ”, उनले भने। डेढ बिघामा खेती गर्दै आएका उनले सिचाइँको वैकल्पिक व्यवस्था नभएकाले समस्या भएको दुखेसो गरे । रोपाइँ नहुँदा बीउ पहेँलिएको छ ।
गत वर्ष यति बेला जिल्लामा करिब २५ प्रतिशत रोपाइँ सकिएको थियो भने यो वर्ष १४ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत चेतराज भण्डारीले पर्याप्त वर्षा नभएपछि पानी तान्ने मोटर किसानले प्रयोग गर्न थालेकाले रोपाइँ बढ्ने विश्वास व्यक्त गरे
मल अभाव
झापामा गत वर्ष झैँ यस वर्ष पनि मल अभाव भएको छ । कृषकले मल नपाएको गुनासो गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए ।
झापामा बर्खे धान खेतीका लागि डिपीए १२ हजार मेट्रिक टन र युरिया १४ हजार मेट्रिक टन आवश्यक पर्ने प्रमुख विष्टले जानकारी दिए । मागअनुसार आपूर्ति भएको छैन । गत वर्ष मागका आधारमा १० प्रतिशत मात्र मल आपूर्ति भएको उनले बताए । गोबरको प्रयोग बढाउन सके ४० प्रतिशत रासायनिकको प्रयोग घटाउन सकिने प्रमुख विष्टले बताए ।
झापामा बर्खे धानको उत्पादकत्व हरेक वर्ष बढ्दै गएको छ । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा धानको उत्पादकत्व चार दशमलव ८५, आव २०७९/०८० मा चार दशमलव ८९ र गत आवमा ५ दशमलव ०५ पुगेको केन्द्रले जनाएको छ ।
जिल्लामा धान खेतीको क्षेत्रफल ८७ हजार पाँच सय हेक्टरबाट घटेर ७५ हजार चार सय ६९ हेक्टर भए पनि उत्पादकत्व भने वृद्धि भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताए ।
झापामा सबैभन्दा धेरै गौरादह नगरपालिकामा धान खेती हुने गरेको छभने सबैभन्दा कम दमक नगरपालिकामा हुने गरेको छ । गौरीगञ्ज र कचनकवलमा पनि मनग्ये धानखेती हुने गरेको केन्द्रले जनाएको छ ।
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
