सन्दीपको स्पिन जादुमा कतार तिरिमिरी, नेपालको एउटा खुट्टा विश्वकपमा !

एजेन्सी:  अर्को एउटा रोमाञ्चकारी म्याच र अर्को एउटा बहादुरीपूर्ण पुनरागमन । हिजोको म्याचमा कतारविरुद्ध ‘असाधारण’ जित निकाल्दै नेपाल लगातार दोस्रो पटक टी-२० विश्वकप खेल्ने संघारमा पुगेको छ ।

ओमानमा जारी टी-२० विश्वकप क्वालिफायरमा चारवटा म्याच खेलिसक्दा नेपालले अहिलेसम्म हारको सामना गर्नुपरेको छैन । तर, प्रत्येक म्याचमा नेपालले निकै संघर्ष गर्नुपर्‍यो, चाहे आफूभन्दा कमजोर आँकिएका प्रतिस्पर्धी नै किन नहुन् । पछिल्ला दुई म्याच त अति पेचिला थिए, जहाँ नेपालले हार नजिक पुगेर ‘कमब्याक’ गर्न सफल भयो । नेपालले अन्तिम बलसम्म हार स्वीकार्न नचाहेपछि यूएई र कतारले नतिजा सुम्पिन बाध्य भएका छन् ।

अस्तिको म्याच यदि थ्रिलर थियो भने हिजोको झन् ‘सुपर थ्रिलर’ थियो । ‘कार्डियाक किड्स’ को उपमा पाएको नेपाली टिमले दर्शकहरूलाई साँच्चै मुटु नै बाहिर निस्किएला जस्तो क्षणमा पुर्‍याइदियो । एक समय दर्शकले हार स्वीकार गरिसकेका थिए, तर टिमले थिएन । लडाकु शैली देखाउँदै उनीहरू जितका लागि अन्तिमसम्म लडिरहे । विगतमा नेपालले जित्न आँटेको म्याच गुमाएर चुक्चुकाएका धेरै क्षणहरू छन् । तर, त्यो प्रवृत्तिलाई उल्टाएर अहिले टिम हारको मुखबाट जित निकाल्न बानी परेको छ ।
यो प्रतियोगितामा नेपालले प्रत्येक खेलमा फरक-फरक ‘म्याच विनर’ पाइरहेको छ । हिजो चम्किने पालो थियो स्पिनर सन्दीप लामिछानेको । नेपालका सबैभन्दा प्रख्यात क्रिकेटरले आफ्नो नाम अनुसारको प्रदर्शन गरे । उनको स्पिनले नै खेललाई टर्नअराउन्ड गराइदियो । नेपाललाई यो जितको जुन महत्त्व छ र खेलमा नेपाल जुन अवस्थामा थियो, त्यसको आधारमा भन्नुपर्दा सन्दीपले आफ्नो करिअरकै सर्वोत्कृष्ट प्रदर्शन गरेका छन् । आफ्नो ‘पिक’ समयका घातक सन्दीपको पुनरोदय भएको छ ।

९ ओभरसम्मको खेलमा कतारले कुनै विकेट क्षतिबिना ७५ रन जोड्दा नेपाल शर्मनाक हारतर्फ लम्किरहेको जस्तो प्रतीत हुन्थ्यो । सन्दीप १० औँ ओभरमा बलिङ गर्न आउँदा कतारलाई जितका लागि ६६ बलमा ७३ रन चाहिएको थियो भने उसका १० वटै विकेट सुरक्षित थिए । खेल ९०ः१० को रेसियोमा कतारको पक्षमा ढल्किएको अवस्था थियो । नेपाली फ्यानहरू होपलेस भइसकेका थिए । तर, सन्दीपले आफ्नो पहिलो ओभरबाटै खेलको रुपरेखा बदलिदिए ।

१० औँ ओभरको अन्तिम बलमा उनले नेपाली बलरहरुमाथि हाबी भइरहेका कतारका श्रीलंकन ओपनर इमाल लियानागेलाई बोल्ड गरिदिए । यहीँबाट नेपाल जुर्मुरायो । लगत्तैको ओभरमा कप्तान रोहितले १३ रन खाए । तर त्यसपछि सन्दीपले १३ औँ ओभरमा दोस्रो विकेट हात पारे, मुहम्मद असिमको । यो विकेट पनि उनलाई ओभरको अन्तिम बलमा नै मिलेको थियो । नेपालको अलिकति आशा जाग्यो । तर पनि कतार बलियो स्थितिमा नै थियो ।

खेलमा वास्तविक टर्नअराउन्ड त्यतिबेला सुरु भयो, जब १४ औँ ओभरमा कतारले लगातार बलमा दुई विकेट रनआउटमार्फत गुमायो । प्रतियोगिताभरि उत्कृष्ट फिल्डिङको नमूना देखाइरहेको नेपालले हिजो पनि त्यही गतिशीलता कायम राख्दै कतारका दुई महत्त्वपूर्ण ब्याटरलाई रनआउट गरिदिए । फेरि एकपटक दीपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिट गरे भने लगत्तैको बलमा आदिल आलमले उनको सिको गर्दै अर्को विकेट निकाले । कतार १०५ रनमा ४ विकेटको स्थितिमा खस्कियो ।

एउटा इन्डबाट ओपनर जुबैर अलि डटिरहेकै थिए । उनले १५ औँ ओभरमा आदिल आलमलाई छक्का प्रहार गर्दै नेपाललाई फेरि हताश तुल्याए । यो ओभरमा कतारले ११ रन बटुल्यो । अब अन्तिम ५ ओभरमा जितका लागि चाहियो केवल ३१ रन । हातमा ६ विकेट सुरक्षित । १६ औ ओभरमा कप्तान रोहितले फेरि सन्दीपलाई बल सुम्पिए । फेरि सन्दीपले ओभरको अन्तिम बलमा विकेट निकाले साहजैब जमिललाई बोल्ड गर्दै । नेपाली क्याम्प फेरि जुर्मुरायो ।

१७ औँ ओभरमा बलिङ गर्न आए युवा फास्ट बलर नन्दन यादव । आफ्नो पहिलो ओभरमा निकै महंगा बनेका नन्दनलाई ‘डेथ ओभर स्पेसलिस्ट’का रूपमा कप्तानले बल थमाएका थिए । र नन्दनले आफूलाई सिद्ध गरिदिए । खासमा हिजोको म्याचमा उनको पछिल्लो दुई ओभरको स्पेल निकै महत्त्वपूर्ण रह्यो, जहाँ उनले दुई विकेट लिन सफल भएका थिए ।

१६.२ ओभरमा यादवले सरिक मुनिरलाई बोल्ड गरे । यो ओभरमा उनले २ रन मात्रै खर्चिएपछि खेल रोमाञ्चक स्थितिमा पुग्यो । अब अन्तिम ३ ओभरमा कतारलाई चाहियो २४ रन । १७ ओभरमा आए नेपालका टाइगर दिपेन्द्रसिंह ऐरी । उनले अर्को महत्त्वपूर्ण ब्रेक थ्रू दिलाए, डेनियल लुइसलाई पेभिलियन फर्काएर । अन्तिम दुई ओभरमा कतारलाई चाहियो २० रन । हातमा ३ विकेट मात्र । खेल ब्यालेन्समा ।

१९ औँ ओभरको पहिलो बलमा नन्दन यादवले जुबैर अलिको निर्णायक विकेट लिएपछि खेल नेपालको पक्षमा जबरजस्तरुपमा मोडियो । तर, त्यसपछि नन्दनले आफ्नो लय बिगारे । उनले तीन वाइडसहित यस ओभरमा १० रन खर्चिन पुगे, जसले गर्दा अन्तिम ओभरमा खेल फेरि ५०-५० को अवस्थामा फर्कियो ।

सन्दीपको एक ओभर कप्तानले अन्तिम ओभरकै लागि साँचेर राखेका थिए । कतारलाई चाहिएको थियो १० रन र नेपाललाई चाहिएको थियो २ विकेट । बलर र ब्याटर दुवैको कठिन धैर्यता र स्किलको परीक्षाको घडी । सन्दीपले आफ्नो सारा अनुभव र आत्मविश्वास पोख्दै उत्कृष्ट बलिङ गरे । कतारी ब्याटरहरुले कुनै मौका नै पाएनन् ।

पहिलो र दोस्रो बल डट फ्याँकेका सन्दीपले तेस्रो बलमा ब्याट्सम्यानलाई आउट गर्दै आफ्नो व्यक्तिगत ५ विकेट पुरा गरे । त्यसपछिका दुई बलमा कतारले तीन रन लियो, जसले गर्दा अन्तिम बलमा फेरि धुकचुक हुन पुग्यो । कतारले कसैगरी छक्का हान्न सकेको खण्डमा स्कोर बराबरी हुन सक्थ्यो । यस्तोमा ब्याटरले आफ्नो सारा शक्ति लगाउने भएकाले बलर र ब्याटको सम्पर्क हुन सकेको खण्डमा जे पनि सम्भव हुन्छ ।

ब्याटर छक्का हान्ने उद्देश्यले विकेटबाट निकै अगाडि बढे भने सन्दीपले चतुरतापूर्वक ‘वाइड’ फ्याँके । यो बल यदि वाइडसँगै बाउन्ड्रीको दिशामा गएको भए कतारले ५ रन प्राप्त गर्ने थियो र थप एक बल फ्याँक्न सक्ने थियो । तर, विकेटकिपर आसिफ शेखले ब्याट्सम्यानलाई स्टम्पिङ गरिदिए र कतार अलआउट भयो ।

यो त भयो दोस्रो इनिङको कथा । अब चर्चा गरौँ पहिलो इनिङको जहाँ नेपाली ब्याटरहरुले फेरि एकपटक कडा संघर्ष गर्नुपरेको थियो । रन बनाउन कठिन पिचमा ओपनर जोडी चाँडै आउट भएपछि नेपालका कप्तान रोहित कुमार पौडेलले जिम्मेवारी लिए । उनको अर्धशतकीय इनिङ नेपालका लागि साह्रै बहुमूल्य थियो । ४२ बलमा ५८ रन बनाउने क्रममा रोहितले केही चित्ताकर्षक सटहरु प्रहार गरे । एवि डिभिलियर्सको झल्को दिने गरी उनले दुईवटा स्कुप सट हानेका थिए । रोहितको इनिङमा संयम र आक्रामकताको मिश्रण थियो ।

रोहितलाई बलियो साथ दिए उपकप्तान दिपेन्द्रसिंह ऐरीले । नेपालले ४८ रनमा ३ विकेट गुमाएको स्थितिबाट यो जोडीले ६२ रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई उकासेका थिए । त्यसपछि सधैझैं गुल्शन झाले केमियो इनिङ खेले । उनले ८ बलमा दुई छक्कासहित १६ रन हान्दा रंगशालामा उपस्थित नेपाली दर्शकहरूमा खुशीको सीमा थिएन ।

नेपालले दिएको १४८ रनको लक्ष्य कतारलाई निकै भारी पर्ने अनुमान थियो । तर, त्यसो भएन । कतार वरियतामा नेपालभन्दा निकै पछाडि रहेको टिम हो, तर विदेशी खेलाडीहरूको उपस्थितिले गर्दा यसलाई कमजोर आँक्न सकिने अवस्था छैन ।

जे होस, नेपालले जसोतसो गरेर निकै महत्त्वपूर्ण जित निकालेको छ । यो जितले गर्दा नेपाल टी-२० विश्वकपमा पुग्ने सम्भावना बलियो बनेको छ । एउटा खुट्टा विश्वकपमा टेकिसक्यो भन्दा पनि फरक नपर्ला । यदि हारेको भए नेपाल अप्ठेरो स्थितिमा पुग्ने थियो ।

प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको नेपाल सुपर सिक्समा ६ अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा छ । समान ६ अंक बटुलेको घरेलु टिम ओमान राम्रो रनरेटका कारण पहिलो स्थानमा छ । अब नेपाल र ओमानबीचको भिडन्तले विश्वकपमा पुग्ने एउटा टिमको टुंगो लाग्छ । अहिलेसम्म कागजीरुपमा ६ वटै टिमको ढोका बन्द भइसकेको छैन । तर, लगातार तीन हारपछि कतार बाहिरिने संघारमा पुगेको छ ।

ओमानलाई हराएर अन्तिम म्याचमा सामोआलाई पनि पराजित गरेको खण्डमा नेपाल प्रतियोगिताकै विजेताका रूपमा शीर्षस्थानमा रहनेछ । ओमानसँग हारेको खण्डमा सामोआविरुद्ध निश्चित जित निकाल्नुपर्ने हुन सक्छ वा हिजैकै जित काफी हुन पनि सक्छ । त्यो अन्य खेलहरूको नतिजामा भर पर्छ ।

नेपालले बुधवार ओमानसँग र शुक्रवार प्रतियोगिताकै अन्तिम म्याच सामोआसँग खेल्दैछ । सुपरसिक्सको टप थ्रीमा रहने टिमहरू भारत र श्रीलंकामा अर्को वर्ष हुने विश्वकपमा सहभागी हुनेछन् । यो छनोट प्रतियोगितामा भने सेमिफाइनल–फाइनल हुँदैन । सुपरसिक्सपछि नै प्रतियोगिता सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *