एजेन्सी: रौतहटकी रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका युवकले निर्धक्कसँग अपराधको स्वीकारोक्ति गरेका छन् । आत्मदाह प्रयास गर्नुपूर्व उनले भिडिओ नै बनाएर घटना विवरण सुनाएका थिए ।
गौर नगरपालिका वडा नम्बर २ डेरा गरी बस्दै आएकी रुबीको शव सुटकेशभित्र राखिएको अवस्थामा गौर–९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोडनजिक सडकको पश्चिम किनारमा भेटिएको थियो । घटनापछि खोजतलासमा जुटेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक राजु कार्की नेतृत्वको टोलीले जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ६ बस्ने लक्ष्मण पासवानलाई पक्राउ गरेको हो।
पक्राउ गरिनुपूर्व नै पासवानले भिडिओ बनाएर पोस्ट गरेका थिए । शरीरमा आगो लगाएर जलेको अवस्थामा पक्राउ गरेर प्रहरीले उनलाई अस्पताल भर्ना गरेको छ ।
पासवानले आफ्ना भिडिओमा रुबी आफ्नै प्रेमिका मात्र नभएर श्रीमती नै भएको दाबी गरेका छन् । आफूहरूले नेपाल र भारत दुवैतिर अदालती विवाह गरेको उनको भनाइ छ । तर रुबीकी आमाले आफूहरूलाई छुटाएको पासवानले बताएका छन् ।
रुबीको हत्याअघि आफूहरुबीच लामो कुराकानी भएको र दुवैजना बाँच्न नसक्ने अवस्थामा पुगेको समेत उनको भनाइ छ ।
पासवनले भिडिओमा भनेका छन्, ‘म दोषी हुँ । तर म भाग्दिनँ । जेलमा बस्न पनि सक्दिनँ । म मर्छु । मेरो प्राण त गइसकेको छ । ऊ त्यहाँ पर्खिरहेकी छे । भन्छे, ‘कब आउँछस् ?’ आज मेरो मन छ, त्यहाँ पुगेर भेटौँ । किनभने मेरो प्राण त्यहीँ छ ।’
पासवानले हिन्दीमा बोलेका कुराहरूको नेपाली भावानुवाद यस्तो छ:
नमस्कार । यता धेरै गर्मी रहेछ ।
मान्छेले यत्तिकै कसैको ज्यान लिँदैनन् । बाध्य हुन्छन् ज्यान लिन । अनि त्यसको पछाडि कसको हात हुन्छ भन्ने जान्नुपर्छ ।
म यसलाई भगाउनेवाला थिइनँ । धेरै रोएको थिएँ । उसको आमा निकै खराब थिइन् । अरूको सुन, चाँदी, धन–दौलत हेरेर छोरीलाई ताना मारेर कुरा गर्थिन् । फलानाको ज्वाइँ–छोरी कस्तो छ, उसको कति पैसा छ, कति गहना छ, कति सुन किन्छ भनेर उसलाई सुनाइरहन्थिन् । अनि मेरो नाम लिएर पनि धेरै गाली गर्थिन् ।
उसकी एक छोरी पिंकी छ । उसले भागेर विवाह गरेकी छ । उसको केटा मुना पटेल हो, गाउँकै हो । त्यो पिंकीले हरेक पूजा-पाठमा सुन-चाँदी, गहना किनिरहन्छिन् । त्यसले उसको आमालाई जलन हुन्छ । अनि भन्छिन्, ‘हेर्नु त, ऊ किनिरहेछ । तर कस्तो आमा हो ? छोरी भागेर बिहे गरेदेखि आजसम्म बोलेकी छैनन् ।
सुखोवाको राजन महतो छ । उ निकै खराब छ । उ रुबीलाई भन्छ, ‘कति पैसा चाहिन्छ ? मसँग धेरै पैसा छ । म धेरै कमाउँछु । मसँग पैसाको कमी छैन ।’ उसलाई लोभ-लालच देखाउँछ, ‘मसँग हिँड, होटलमा जाऔँ, कतै-कतै जाऔँ ।’ तर ऊ जान्न । उसको आमा चाहिँ भन्छिन्, ‘जाऊ ।’ मलाई त्यो मन पर्दैन।
त्यस्तै अर्को, राजा हो, उसलाई राजु पनि भन्छन् । घरमा उसलाई सरलु भनेर चिनिन्छ । ऊ के भन्छ भने, ‘तिम्रो नाममा कार लिएको छु ऋणमा, थाहा छैन कहिले तिर्छु । तिम्रो नाममा म कार लेखिदिन्छु, घर लेखिदिन्छु ।’ ऊ पनि आफूसँग सुत्नको लागि दबाब दिन्छ । तर आमा फेरि भन्छिन्, ‘जा ।’ कस्तो आमा हो ? बिहे भएको छ । तर ऊ बाध्य हुन्छ । मलाई पनि भन्छ, ‘के गरूँ ? म बाध्य छु ।’
उसको देवरले पनि एउटा भिडियो बनाएर ब्ल्याकमेल गरेको छ । ऊ बाथरूममा नुहाउँदै गर्दा भिडियो खिचेको रहेछ । अनि ब्ल्याकमेल गर्छ । ‘यदि मसँग सुतिनस भने यो भिडियो नेटमा हालिदिन्छु,’ भनेपछि डरले उससँग बस्न बाध्य भयो ।
म गरिब थिएँ । उ आठ-नौ कक्षामा मसँग पढ्थी । त्यति बेलादेखि नै हाम्रो प्रेम सुरु भएको थियो । हामी १० कक्षामा पुगेपछि भागेर बिहे गर्यौँ । सीतामढी डुमरा अदालतमा विवाह गर्यौँ । फेरि नेपालको सर्लाहीमा गएर कोर्ट म्यारिज गर्यौँ । तर उसको आमाले निकै सताइन् र छुट्याइन् । ठीकै छ, मसित पैसा थिएन । यार, कम्तीमा छोरीलाई खुसीले बस्न देऊ न । किन ताना मारेर कुरा गर्छस् ? ‘तिम्रो घर छैन, पैसा छैन, गहना छैन, फलानाको छोरी–ज्वाइँ कस्तो छ’ भनेर किन यस्तो गर्छस् ? यदि मन छ भने, आफ्नै गहना दिन नि । राजन, तेरो पैसा दे न । सरलु, तेरो कार दे न । आमाले सुन–चाँदी किनिदेऊ न । अनि बोल्न केही बाँकी नै हुँदैन । उ पाकिसकेको छ, उसको दिमाग बिग्रिसकेको छ । के गरूँ ? हरेक दिन यही कुरा, रोइकराइ । रात–दिन हाम्रो नाममा गाली ।