‘साइलेन्ट किलर’ निमोनियाको उच्च जोखिममा ज्येष्ठ नागरिक

रोगप्रतिरोधी क्षमता कम हुने, विभिन्न दीर्घरोगका कारण कीटाणुले छिटै आक्रमण गर्ने भएकाले निमोनिया संक्रमणको उच्च जोखिममा हुन्छन्, ज्येष्ठ नागरिक। चिकित्सकहरूका अनुसार पाँच वर्षमुनिका बालबालिका र ६५ वर्षदेखि माथिका व्यक्तिहरूमा निमोनिया हुने र मृत्यु हुने जोखिम बढी हुन्छ। चिसो मौसममा यो संक्रमणको जोखिम उच्च हुन्छ।

ज्येष्ठ नागरिकमा सामान्य रुघाखोकी पनि छिटै जटिल निमोनियामा परिणत हुन सक्ने र ज्यानै जान सक्ने भएकाले यस्तो संक्रमण घातक मानिन्छ। जोखिममा ज्येष्ठ नागरिक

बाह्य जीवाणु, परजीवी, फंगस र क्षयरोगमा हुने कीटाणुजस्ता तत्त्व फोक्सोमा प्रवेश गरी संक्रमण गराउँदा निमोनिया हुन्छ। सामान्यतया रुघाखोकी बिग्रिएर फोक्सोमा संक्रमण हुने रोग हो यो।

वृद्ध अवस्थामा शरीर कमजोर हुने भएकाले बाह्य कीटाणुहरूसँग लड्ने शक्ति कम हुने र उनीहरू अन्य रोगसँग पनि जुधिरहेका हुने भएकाले निमोनिया भएमा गाह्रो पार्ने परिवार कल्याण महाशाखाका डा. गौतम बताउँछन्। “मुटुको समस्या, दम, मधुमेहजस्ता दीर्घरोग भएका तथा ज्येष्ठ नागरिकमा कीटाणुले छिटो आक्रमण गर्छ, जसका कारण सामान्य रुघाखोकी पनि छिटै जटिल निमोनियामा परिणत हुन सक्छ,” उनी भन्छन्।

स्थानीय तहको प्रयास

संघीय सरकारले ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्ध निःशुल्क खोप वितरण गर्न नसके पनि केही पालिकाले आफ्नै पहलमा ज्येष्ठ नागरिकलाई खोप दिन थालेका छन्।

ललितपुर महानगरपालिकाले स्थानीय तहमा पहिलोपटक ज्येष्ठ नागरिकका लागि निमोनियाविरुद्ध खोप लगाउने कार्यक्रम सुरु गरेको हो। २०८० सालदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क खोप कार्यक्रम सञ्चालन गरेको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक डिल्लीशेर केसी बताउँछन्। उनका अनुसार आव २०८०/८१ मा एक हजार २५० जनालाई खोप लगाइएको थियो। यस्तै, आव २०८१/८२ मा दुई हजार र चालु आवमा हालसम्म एक हजार ५०० जना ज्येष्ठ नागरिकलाई नि:शुल्क खोप लगाइएको छ।

निमोनियाविरुद्धको खोपले बिरामीलाई खर्चिलो उपचारबाट बचाउने भएकाले पालिकावासीको आर्थिक क्षति कम होस् भन्ने उद्देश्यले महानगरपालिकाले खोप कार्यक्रम लागु गरेको केसी बताउँछन्। उनका अनुसार निमोनियाविरुद्धको खोप ‘पीसीभी-१३’ एकपटक लगाएपछि दुई वर्षसम्म काम गर्छ।

काठमाडौँ महानगरपालिकाले भने गत २३ कात्तिकबाट ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्ध खोप निःशुल्क लगाउने कार्यक्रम सुरु गरेको स्वास्थ्य शाखाका प्रमुख दीपककुमार केसी बताउँछन्। उनका अनुसार महानगरपालिकाअन्तर्गतको स्थानीय तह खोप समन्वय समितिको बैठकको निर्णयअनुसार पहिलो चरणको खोप लगाइएको र दोस्रो चरणको खोप लगाइने मिति तय हुन बाँकी छ। “दुई चरणका लागि तीन हजार खोप खरिद गरिएको छ, ७५ वर्ष उमेर पुगेका, दीर्घरोगी र रोगप्रतिरोधी क्षमता कम भएका बिरामीहरूलाई खोपको दायरामा ल्याइएको छ,” उनी भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *