एजेन्सी: नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शंशाक कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट मुलुकमा ठूला-ठूला विकास निर्माणको काम हुन नसकेको तर्क गरेका छन् । उनले कांंग्रेस सरकारमा सामेल भएपनि सरकारको नेतृत्वकर्ता ओलीले मुलुकमा सुशासन पनि दिन नसकेको आरोप लगाए ।
दाङको घोराहीमा आज आयोजित पार्टीका जिल्ला, क्षेत्र, नगर, पालिका, वडाका अगुवा कार्यकर्ताहरुसंंगको भेटमा विपी पुत्रसमेत रहेका शंशाकले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनतामा उत्साह भएपनि ६ महिनाको बीचमा जनतामा निराशा छाउदै गएको बताए ।
अध्यादेशबाट सरकार सञ्चालन गर्नु विडम्वनापूर्ण वातावरण भएको भन्दै उनले कांग्रेसका जिम्मेवार पदाधिकारीले अहिले संसदलाई छलेर अध्यादेशबाट सरकार सञ्चालन गर्ने कुरामा साक्षी बस्दै हिँडेको आरोप लगाए ।
काग्रेस नेता, कार्यकर्ताहरुले विवेक पुर्याउनुपर्ने समय आउन लागेको भन्दै अब आउने महाधिवेशनमा आफू सभापति लड्ने पनि उनले जनाए । सभापति लड्ने सोच बनाइरहँदा देशभर कांग्रेस नेता, कार्यकर्ताहरुलाई भेट्नेक्रममा दाङ आइपुगेको चर्चा गर्दै नेता कोइरालाले घुमाउरो पारामा आउने सभापतिमा शेखर कोइरालालाई छाड्न नसक्ने संकेत गरे ।
कोइराला परिवार एक ठाउँमा आउनु र नआउनु ठूलो अर्थ नराख्ने चर्चा गर्दै उनले रगतको नाताले मात्रै नहुने भएकाले विचारको एकता नहुँदासम्म कोइराला परिवार एक हुनुको अर्थ नरहेको टिप्पणी गरे ।
कांग्रेसभित्र शक्तिलाई केन्द्रीकृत गर्ने काम मात्रै भइरहेको बताउँदै उनले आफू नेतृत्वमा आएपछि केन्द्रवाट हुँदै आएको टिकट वितरण प्रकृयालाई पनि आफू जिल्ला, क्षेत्रलाई दिने गरी काग्रेसको विधान संशोधन गर्ने उनले बताए ।
कांग्रेसका नेता, कार्यकर्ताले आफ्नो दिमागवाट नै कांग्रेस बनाउने अठोट लिनुपर्ने र त्यसलाई आफूले नेतृत्व गरेर साथ दिने उनको भनाइ छ । उनले कांग्रेस र एमालेले मिलेर बलियो र स्थिर सरकार वोलीमा मात्रै भएको तर बजेट कार्यान्वयन गर्ने कुरादेखि व्यवहारमा कहिँ कतै देख्न नपाइएको बताए । संघीयता पनि नाम मात्रैको भएको भन्दै कोइरालाले एकात्मक तरिकाले र वित्तीय अधिकार नदिएर आफैं केन्द्रीय सरकारले राख्ने भए संघीयताको कामै नरहेको बताए ।
मुलुकमा हिन्दु राष्ट्र चाहिएको बताउँदै नेता कोइरालाले आफू धर्म निरपेक्षको पक्षमा नरहेकाले धर्मसापेक्ष हुनुपर्ने भन्दै आफ्नो वुवा विपी र आमा पनि धर्ममा सानैदेखि विश्वास गरेकाले संविधानमा जवरजस्ती धर्म निरपेक्ष लेखेर जनताले मान्नै पर्ने ग्यारेन्टी नरहेको बताए ।
९० प्रतिशत ओमकार परिवार रहेकाले जनमतको अपेक्षा विपरीत विदेशीको पछि लागेर संविधानमा धर्म निरपेक्ष लेखिएको उनले आरोप लगाए ।
नेता कोइरालाले चुनाव अत्यन्तै महङ्गो भएकोले सामान्य ब्यक्ती नेतृत्वमा आउन कठिन रहेको बताउँदै आफ्नो चुनावमा शुभेच्छुकहरुले ६ करोडभन्दा बढी गएको चुनावमा खर्च गरेको रिपोर्ट आएकाले यस्तो महङ्गो चुनाव जनता लड्न नसक्ने भएकाले निर्वाचन प्रणाली नै संशोधन गर्नुपर्ने उनको सुझाव थियो ।