एजेन्सी: देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाटै श्रम मन्त्रालयको गाडी हराएको समाचारले अस्ति निकै हल्लीखल्ली मच्चियो । सिंहदरबारभित्रको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्नहरु उठे ।
त्यसको २४ घन्टा नबित्दै सबैलाई राहत दिने गरी अर्को समाचार आयो- हराएको गाडी भेटियो ।
खासमा गाडी न हराएको हो, न भेटिएको । खासमा गाडी दुरुपयोग भइरहेको थियो, त्यो पनि अरु कोहीबाट नभएर श्रममन्त्री शरदसिंह भण्डारीबाटै । र, उनकै सचिव कृष्णहरी पुस्करले चलाखीपूर्वक ‘गाडी हराएको’ भन्दै खोजीका लागि गृह मन्त्रालयमा पत्राचार गरेका थिए ।
स्रोतका अनुसार करिब ४ महिनाअगाडि नै भण्डारीका स्वकीय सचिवले ‘मन्त्रीज्यूको आदेश’ भन्दै मन्त्रालयको स्टोरबाट प्रदेश ३-०१-००२ झ ५३६७ नम्बरको महेन्द्र स्कर्पियो लिएर हिँडेका थिए । यो विषयमा सचिव पुष्करले त्यही बेला थाहा पाएका हुन् । तर, मन्त्रीकै आदेशमा लगिएको भनेपछि उनले केही गर्न सकेनन् ।
अहिले आएर मन्त्रालयकै एक उपसचिवलाई गाडी अभाव भयो । त्यसपछि सचिवले स्कर्पियोका विषयमा मन्त्रीको सचिवालयलाई सोधे । तर, स्वकीय सचिवले स्कर्पियो कहाँ छ भन्ने आफूलाई थाहा नभएको भन्दै गैरजिम्मेवार जवाफ दिएपछि सचिव पुस्कर रुष्ट बनेका थिए । त्यसपछि उनले गाडी खोजीका लागि गृह मन्त्रालयलाई पत्र काट्न लगाएका हुन् ।