हिंसाले बेसहारा मधेसकी छोरी सीता

वीर अस्पतालको बर्न वार्डमा चार दिनदेखि लडिरहेकी छन्, महोत्तरीकी १८ वर्षीया सीता सदा (नाम परिवर्तन)। प्रादेशिक अस्पताल महोत्तरीले अस्पतालमा शल्यक्रियाको सुविधा नभएको भन्दै ‘रेफर’ गरेपछि उनी यहाँ ल्याइएकी हुन्।

चिकित्सकहरूले सीताको देब्रे हातका औँलाहरू काट्नुपर्ने बताएका छन्।

यो सुनेदेखि सीताको होसहवास छैन। मनमा कहिल्यै नभरिने चोट त पापीले दिएकै थियो। अब, एउटा हात पनि गुमाउनुपर्दा कसरी बाँच्ने हो? यही हात त थियो उनको पेट भर्ने? अब के गर्ने? आफूलाई नै किन यस्तो भएको हो? यस्ता धेरै प्रश्नले उनलाई भोक लाग्दैन, न निद्रा नै।

एकदिन अचानक सीताकी आमा हराइन्। त्यसको केही वर्षपछि २८ असोज २०८० सालमा चिसोले कठ्यांग्रिएर बुवाको समेत मृत्यु भयो। सम्पत्तिको नाममा दुई धुर जग्गा र एउटा सानो कच्ची घरबाहेक केही थिएन। काकाले नागरिकता बनाइदिन पनि मानेनन्।१८ साउन २०८१ मा काम गर्दागर्दै एक्कासि सीतालाई चक्कर आयो। उनले आफ्नो समस्या साहुलाई सुनाइन्। तर, साहुले वास्तै गरेनन्। त्यसपछि मण्डललाई भनिन्। मण्डलले उनलाई अस्पताल पुर्‍याए र उपचार गराए।

उपचारपछि मण्डलले सुरक्षित हुने भएकाले घरैमा जान भने। मण्डलको घर पुग्दा घरमा अरू कोही नदेखेपछि सीता छक्क परिन्। तर, मण्डलले बेलुकी सबै आउने बताए। तर, कोही आएनन्।

फकाउँदा नमानेपछि जर्बजस्ती बलात्कार गर्न खोजेपछि सीता चिच्याउन थालिन्। तर, उनको आवाज कसैले सुनेन। मण्डलले कसै गरे पनि उनलाई छाडेनन्। बलात्कार गरिछाडे। मण्डलबाट छुट्न खोज्दा अचानक टेबलमा रहेको बिजुलीको तारमा लाग्यो। अर्धचेत उनलाई मण्डलले नै एम्बुलेन्स बोलाएर उपचारका लागि रामगोपाल प्राथमिक स्वास्थ्य केन्द्रमा पठाए। अस्पताल पुग्दासम्म उनको देब्रे हातको बुढी र कान्छी औँलाका अधिकांश भाग जलिसकेका थिए।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)की मधेस प्रदेश इन्चार्ज ममता विश्वकर्माका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नभएपछि उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा पुर्‍याइयो। करेन्टले हात मात्र होइन, बलात्कारबाट उनको योनिमा समेत क्षति पुगेको थियो। अस्पतालमा साढे दुई महिना बसेर उपचार गर्दा पनि उनलाई निको भने भएन।

त्यसपछि सीता इन्सेककै सहयोगमा सेल्टरहोममा बसिन्। महिनौँ प्रादेशिक अस्पतालमा उपचार गराइन्। अहिले सीताको थप उपचार वीर अस्पतालकै एकद्वार संकट केन्द्रमार्फत निःशुल्क भइरहेको छ। उपचारपछि माइती नेपालको सेल्टर हाउसमा राख्न अनुरोध गरे पनि खाली नहुँदा राख्न नसकिएको बताउँदै उनी भन्छन्, “अहिलेसम्म कुनै पनि सेफ हाउस संरक्षण दिन तयार भएका छैनन्। उपचारपछि उनलाई कहाँ राख्ने भन्ने अन्योल भइरहेको छ।”

उता, सीताको उजुरीपछि घटनाको दोस्रो दिन नै १९ साउनमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले बलात्कार आरोपमा मण्डललाई पक्राउ गर्‍यो। १३ असोजमा पुर्पक्षका लागि थुनामा पनि पठायो। तर, गएको भदौमा भएको जेन-जी आन्दोलनका अवसरमा मण्डल पनि फरार भए। अहिलेसम्म पक्राउ परेका छैनन्।

सीतालाई अहिले एकैपटक तीन वटा प्रहारले पिरोलेको छ, पहिलो बलात्कारको मानसिक र शारीरिक पीडा, दोस्रो औँला काटिने भय अनि फरार बलात्कारीले फेरि आक्रमण गर्ला कि भन्ने डर। https://nepalnews.com/2025/12/22/sita-a-daughter-of-madhesh-left-helpless-by-violence/

Leave a Reply

Your email address will not be published. Required fields are marked *