एजेन्सी: शेयर बजारका पुराना तथा अनुभवी लगानीकर्ता हुन् छोटेलाल रौनियार । उनी लामो समयदेखि शेयर बजारमा सक्रिय छन् । उनले नेपाली शेयर बजारको उतारचढाव नजिकबाट नियालिरहेका छन् । अहिले उनी निःशुल्क शेयर शिक्षासमेत सञ्चालन गर्दै आएका छन् । नेपाल इन्भेस्टर फोरमका निवर्तमान अध्यक्ष एवं शेयर लगानीकर्ता संघका सल्लाहकार छोटेलाल रौनियारसँग नेपाली शेयर बजारका विविध विषयमा नेपाल प्रेसकर्मी रिता राउतले गरेको कुराकानीको सम्पादित अंशः
– तपाईं डेढ दशकदेखि पुँजी बजारमा सक्रिय हुनुहुन्छ । नेपालको पुँजी बजारको विकासक्रमलाई कसरी हेर्नुभएको छ ?
म शेयर बजारमा अचानक भित्रिएको हो । मेरो गार्मेन्ट फ्याक्ट्री बन्द भएपछि शेयरतिर लागेको थिएँ । म शेयर बजारमा छिर्दा नेप्से इन्डेक्स ११७५ थियो । त्यो बेला बाबुराम भट्टराईले शेयर बजार जुवाको घर हो भनेर भनिदिएपछि शेयर बजार दिनदिनै घट्यो । २९२ मा झर्यो । फ्याक्ट्री बन्द भएपछि शेयर बजारमा छिरेको मैले त्योबेला ७०-८० लाख घाटा व्यहोर्नुपर्यो ।
यो २०६५/६६ सालको कुरा हो । त्यसबेला कागजमा शेयर कारोबार हुन्थ्यो । कागज बोकेर ब्रोकर अफिसमा पुगेर कारोबार गर्नु पर्दथ्यो । ऋण लिएर शेयर बजारमा लगानी गरेको थिएँ । गार्मेन्ट बन्द भएपछि ऋण लिएर शेयर छिरेको मैले यहाँ पनि घाटा व्यहार्नुपर्यो । त्यसपछि मैले शेयर बजारबारे अध्ययन गरें । घटेको बेलामा लगानी गर्नु राम्रो हो भन्ने निष्कर्षमा पुगे र लगानी बढाएँ । मैले भ्यालु इन्भेस्टमेन्ट गरे । बजार घटे पनि मेरो नाफा कम हुन थाल्यो, तर साँवा भने गुमाउनु परेन । लगानी गर्नु अगाडि मैले धेरै नै अध्ययन गर्न थालें । बजारको हल्लाको पछि लागेर मैले लगानी गरिन् ।
कोरोना महामारीपछि नेपालमा शेयर लगानीकर्ताहरू बढे । मैले शेयर बजारमा प्रवेश गर्दाको समय र अहिलेको समयलाई हेर्ने हो भने पुँजी बजारको विकास र विस्तार भएको छ, तर अन्य देशहरूको तुलनामा हेर्ने हो भने नेपालको पुँजी बजारको विकास कछुवाको तालमा भइरहेको छ । नेपालको पुँजी बजारको विकास र विस्तारको काम धेरै नै बाँकी छ । अनलाइन मैत्री शेयर बजार भइरहँदा व्यवस्थित भने हुन सकेको छैन ।