एजेन्सी: नेपाल प्रहरीका सयौं जवान र अधिकृतहरु संगठनको सम्पर्कबाहिर पुगेका छन् । जेनजी आन्दोलनको दोस्रो दिन नृशंस हमलामा परेका देशभरका प्रहरी चौकीबाट ज्यान जोगाएर भागेका र मरणासन्न पारिएका प्रहरीको मनोबल समाप्तप्रायः छ ।
लाउने लुगा समेत थुतेर फालेपछि लगभगै अर्धनग्न अवस्थामा सडक,खोला र गल्लीबाट भागेका सयौं प्रहरीले स्थानीयसँग मागेर खाँदै हिँडेको दृष्य पनि देखिएका छन् । प्रहरीकर्मीले सामाजिक संजालबाट अहिले एउटा ट्रेण्डिङ नै चलाइरहेका छन्,जसका शब्दहरुले सभ्य मानिसलाई विचलित र भाबुक बनाउँछ ।
सरकारको र संगठनको आदेश मानेर कर्तव्यपालन गर्दा कतिपय प्रहरीले ज्यान गुमाएका छन् भने कति बेपत्ता छन् । जेनजी आन्दोलनको निशानामा परेका प्रहरीले अब आफ्नो सुरक्षा आफैँ गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा ट्रेन्ड नै चलाएर आफू प्रहरी भएकोमा घृणा गर्नेहरूलाई अनफ्रेन्ड वा ब्लक गर्न आग्रह गरेका हुन् । उनीहरूले स्टाटसमार्फत मनका पीडा पोख्दै आफू प्रहरी भएको घृणा लागे बहिस्कार गर्न आग्रह गरेका हुन् ।
उनीले आफूले आफ्नो कर्तव्य पालना मात्र गरेको बताउँदै प्रहरीबिना समाजको कल्पना गर्न नसकिने धारणा राखेका छन्।
एक प्रहरी अधिकृत लेख्छन्–प्रहरीलाई कमजोर बनाउनु,हतोत्साहित गर्नु तपाई हामी हाम्रो समाज र समग्र राष्ट्र असुरक्षित हुनु हो । भावनामा बहकिएर विवेकहीन भएर हुन्ख्न,बेलैमा कुरा बुझ पटमूर्ख हो । कर्तव्यपालनको सिलसिलामा शाहदात प्राप्त गर्ने बीर प्रहरी कर्मचारीप्रति हार्दिक श्रद्धासुमन ।
प्रहरीले राज्य र सरकारले दिएको आदेशको पालना गरी देश र जनताको रक्षा गर्दै सार्वजनिक सम्पत्तिको रक्षा गर्दागर्दै अन्तिममा प्रहरीलाई नै बर्दी खोलेर हिड्न बाध्य बनाएको बताएका छन् । प्रहरीको ब्यारेक भवन जलाएको, हतियार लुटेको र अब आफ्नो सुरक्षा पनि आफै राख्न भनेका छन् ।
उनीहरूले लेखेका छन्, ‘म नेपाल प्रहरी भएकामा घृणा राख्नेहरू, कृपया मलाई Unfriend and Block गर्दा पनि हुन्छ । प्रहरीले राज्य र सरकारले दिएको आदेशको पालना गरी देश र जनताको रक्षा गर्दै सार्वजनिक सम्पत्तिको रक्षा पनि गरेको थियो अन्तिममा आएर प्रहरीलाई नै वर्दी खोलेर हिन्न बाध्य बनायौँ र प्रहरीको ब्यारेक भवन जलायौ हतियार लुट्यौ अब आफ्नो सुरक्षा पनि आफै राख्नुहोस् । नबिर्सनुहोस्, हामी प्रहरीबिनाको समाजको कल्पना पनि गर्न सक्दैनन् ।‘
आन्दोलनकारीहरूले मङ्गलवार प्रहरीलाई निशाना बनाएर आक्रमण गर्दा कार्यालयहरू, चौकी सबै जलेर खरानी भएका छन् भने महत्त्वपूर्ण कागजपत्रहरूसमेत नष्ट भएको छ । प्रहरी चौकीमा कब्जा गरेर ड्रेस ,सेट,हतियार सबै खोसेर दुरुपयोग गरिरहेका छन् । कार्यालयमा भएका प्रहरीहरूलाई समेत लखेटिलखेटी कुटपिट गरेका थिए। अधिकांश प्रहरी कार्यालय जलाउनुको साथै आगो लगाइदिएपछि ज्यान जोगाउन हम्मेहम्मे परेको थियो ।
सानो बालबालिकाले समेत प्रहरीको ड्रेस लगाएको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोमबार जेनजीको आन्दोलनमा प्रहरीले गोली चलाएर २० जनाको ज्यान गएको भन्दै आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेका थिए ।
आन्दोलनका नाममा अराजक समूहले प्रहरी चौकीमा आगजनी र हतियार लुटपाट गर्दै हिरासतमा रहेका अपराधीहरु छुटाएपछि तीनै अभियुक्तहरुले कर्तव्यनिष्ठ प्रहरीलाई अर्धनग्न बनाएर लाइनमा उभ्याएर हुर्मत लिँदै कुटपिट गरेका दृष्यहरु पनि अहिले भाइरल भइरहेका छन् ।
आज विभिन्न अपराधमा संलग्न अपराधीहरु हिरासत र जेलबाट समुदायमा पसेका छन् भने समुदायको रक्षा गर्ने दायित्व बोकेका प्रहरी ज्यान जोगाउन र एक छाक खानका लागि दयालु मान्छेहरुको आश्रय खोजिरहेका छन् ।