एजेन्सी: जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । नेपालमा निर्वाचन प्रणाली तुलनात्मक अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै अहिलेको निर्वाचन प्रणालीकै कारणले विकृति र भ्रष्टाचार बढेको उनको बुझाइ छ ।
उनले पार्टी र उम्मेदवार दुवैले खर्च गर्न नपर्ने समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए ।
अध्यक्ष यादवले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पूर्ण समावेशी हुने गरी जानुपर्छ । त्यसो हुँदा खर्च न उम्मेदवारको हुन्छ न त पार्टीको नै ।’
उनले प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित भएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने बताए । सांसदलाई मन्त्री बनाउन छाड्ने हो भने ठूलो समस्या हल हुने उनको भनाइ छ ।
नेता यादवले भने, ‘राजनीतिक अस्थिरता सरकार बनाउन नै भएको छ, मैले त भोगेको हो । एउटा पार्टीले सबैलाई मन्त्री बनाउन सक्दैन, प्रधानमन्त्रीको पार्टीले आइज मन्त्री बनाइदिन्छु भनेर पार्टी फुटाउँछन् । राति पार्टी फुटाउँछ, बिहानै मन्त्रीको शपथ लिन्छ । प्रधानमन्त्रीले गौरवसाथ भाषण गर्छन्, मैले सरकार टिकाउन फलानो पार्टी फुटाएँ भनेर । यो सुहाउने कुरा हो ?’
उनले सांसदहरूलाई मन्त्री नबनाए पार्टी फुटाउन खरिदबिक्री नै नहुने बताए । संविधानसभामा खसीबोका किने जस्तो गरेर सांसदहरुलाई रिसोर्टमा लगेर राखेको आफैँले देखेको उनले स्मरण गरे ।