भविष्य कसको? बहुप्रतिभाशालीको

शिक्षकले कक्षाकोठामा सात वर्षीय सुरेशलाई ‘चराको चित्र बनाऊ’ भन्नुभयो। उनले चराको साटो अनौठो मेसिनको चित्र बनाए, जसमा पांग्राहरू पनि थिए। शिक्षकले चित्र हेर्दै भन्नुभयो, ‘सुरेश, तिमीले यो के बनायौ? यो त चरा होइन।’ सुरेश मुस्कुराउँदै भन्छन्, ‘सर, यो चरा नै हो, यसले अचेल हिँड्न बिर्सेको हुनाले पांग्रा चाहिएको छ।’ बुद्धिमत्ता वा इन्टेलिजेन्सको परम्परागत परिभाषालाई चुनौती दिँदै सन् १९८३ मा उनै प्राध्यापक गार्डनरले ‘फ्रेम्स अफ माइन्ड’ मार्फत ‘मल्टिपल इन्टेलिजेन्स’ सिद्धान्त अघि सारेका थिए। उनका अनुसार बुद्धिमत्ता एकपक्षीय एकाइ नभई क्षमताहरूको समग्र रूप हो। उनले मानिसमा कम्तीमा आठ प्रकारका बुद्धिमत्ता हुने तर्क गरेका छन्। जब हामी बालबालिकालाई विद्यालयको ‘ग्रेड सिट’ वा इन्टेलिजेन्ट क्वेसन्ट (आईक्यू) स्कोरको आधारमा मात्र मूल्यांकन गर्छौं भने हामी उनीहरूको मस्तिष्कको ठूलो सम्भावनालाई बेवास्ता गरिरहेका हुन्छौँ। गार्डनरको यस सिद्धान्तले के स्पष्ट पार्छ भने, शब्दहरूसँग खेल्न नजान्ने बच्चा प्रकृतिसँगको सामीप्य वा शारीरिक चालमा उत्कृष्ट हुन सक्छ। यो विविधता बुझ्नु नै आधुनिक बालविकास र शिक्षाको पहिलो खुड्किलो हो।

हाम्रो समाजमा पढ्नु भन्नाले अझै पनि भाषिक र तार्किक क्षमतालाई मात्र बुझिन्छ। राम्रो कविता वाचन गर्ने वा हिसाब छिटो मिलाउनेलाई मात्र जेहेनदार भनिने भाष्यले अन्य प्रतिभा भएका बालबालिकामा गम्भीर मनोवैज्ञानिक असर पारिरहेको हुन सक्छ। उदाहरणका लागि, दृश्यमा सोच्न सक्ने बुद्धिमत्ता (भिजुअल स्पेसल इन्टेलिजेन्स) उच्च भएका बालबालिकाले संसारलाई विभिन्न रंग र आकारमा देख्छन्। यो प्रतिभा भएकाहरूले दिमागमा भिडिओ वा फोटो चलाउँछन्।

यी बालबालिकाहरू कुनै पनि कुरालाई शब्दमा भन्दा दृश्यमा छिटो बुझ्छन्। उनीहरूलाई नक्सा बुझ्न सजिलो हुन्छ, एकपटक गएको बाटो कहिल्यै बिर्सिंदैनन्। दिमागमै जटिल दृश्यसहितका मोडेलहरू बनाउन सक्छन्। यस्ता बालबालिका भविष्यमा उत्कृष्ट आर्किटेक्ट, डिजाइनर वा एनिमेटर बन्ने क्षमता राख्छन्। तर, उनीहरूमा निहित यस्तो विशिष्ट क्षमतालाई चित्रकलाको अतिरिक्त क्रियाकलापमा मात्र सीमित गरिन्छ, जुन मुख्य पाठ्यक्रमको हिस्सा कहिल्यै बन्दैन।

त्यस्तै, शारीरिक गतिक बुद्धिमत्ता (बडिली काइनेस्थेटिक इन्टेलिजेन्स) भएका बालबालिका एक ठाउँमा स्थिर भएर बस्न सक्दैनन्। उनीहरूलाई दौडन, नाच्न, खेल्न वा आफ्नै हातले केही सामान वा खेल सामग्री बनाउन मन पर्छ। परम्परागत कक्षाकोठामा यस्ता बालबालिकालाई अति चञ्चल वा अनुशासनहीन भनिन्छ। तर, विज्ञानका दृष्टिकोणमा यस्ता बालबालिकाको मस्तिष्क र शरीरबीचको समन्वय अत्यन्तै तीव्र हुन्छ। सही मार्गदर्शन पाए उनीहरू कुशल शल्यचिकित्सक, खेलाडी वा शिल्पकार बन्न सक्छन्। उनीहरूको सिकाइ आँखा, कानले मात्र होइन, हात र शरीरको चालमार्फत पनि हुन्छ। अर्कातर्फ, अभिभावकले पनि घरलाई यस्तो प्रयोगशाला बनाउनुपर्छ, जहाँ बालबालिकाले गल्ती गर्दा डराउनु नपरोस्। गल्तीलाई चकचक नभनियोस्।

अहिले श्रम बजार तीव्र रूपमा परिवर्तन भइरहेको छ। कृत्रिम बुद्धिमत्ता (एआई)ले कतिपय तार्किक र गणितीय कामहरू मेसिनबाटै गराउन थालिसकेको छ। यो अवस्था नियाल्दा के देखिन्छ भने, भविष्यमा ती मानिस मात्र सक्षम र सफल हुनेछन्, जसमा मेसिनले गर्न नसक्ने सिर्जनशीलता, समानुभूति र बहुआयामिक तरिकाले सोच्न सक्ने क्षमता हुन्छ। त्यसैले आजको अभिभावकत्वले बालबालिकालाई एउटा निश्चित ‘करियर’ का लागि होइन, आफ्नो बहुप्रतिभा चिन्न र त्यसलाई परिष्कृत गर्न मद्दत गर्नुपर्छ। यसका लागि उपयुक्त वातावरण बनाइदिनुपर्छ। बालबालिकाको इच्छा र चाहना नै उनीहरूको भविष्य सूचक हो। जब बच्चाको रुचि र प्रतिभा मिल्दछ, त्यस्तो सिकाइ उसका लागि बोझ वा बाध्यता नभई उत्सव बन्न पुग्छ।

हामीले बुझ्नुपर्ने के हो भने, हरेक बच्चा एउटा छुट्टै ब्रह्माण्ड (युनिभर्स) हो। कोही शब्दसँग खेल्न रुचाउँछन्, कोही संख्यासँग त कोही मौनता र प्रकृतिसँग। गुलाबको बोटबाट स्याउ फलेन भनेर गुनासो गर्न थाल्यौँ भने दोष गुलाबको होइन, हाम्रो अपेक्षाको हो।

अबको भविष्य केवल ‘किताबी किरा’ हरूको मात्र रहनेछैन। एआई युगमा मानिसलाई मानिस नै बनाइराख्ने तार्किक, संवेगात्मक र सिर्जनशील क्षमताको झन् बढी महत्त्व हुनेछ। त्यसैले आजैदेखि आफ्नो बच्चाको लब्धांकपत्रमा रातो घेरा लगाउनुको साटो उसले कुन कुरामा आँखा चम्काउँछ, त्यो खोज्न सुरु गरौँ। उसलाई खुला क्यानभास त दिइसक्नुभयो, अब आफैँ रंगहरू छान्न र चित्र कोर्न स्वतन्त्र छाडिदिनुहोस्। उनीहरूको अंक र ग्रेडमा मात्र ध्यान दियौँ भने हामीले राम्रो कर्मचारी, चिकित्सक, चार्टर्ड एकाउन्टेन्ट त पाउन सकौँला, तर संसार बदल्न सक्ने सर्जक र नेतृत्व सधैँका लागि गुमाउनेछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *