एजेन्सी: जेन-जीले सत्ता उलटफेर गरेको हप्ताबीचमै पत्रकार दयानिधी भट्टले लेखेका थिए-
“…तामाङ भाषामा झिन्जीको अर्थ सक्किनु वा सकियो भन्ने हुन्छ। भ्रष्टाचार अन्त्य जस्तो पवित्र उद्देश्यले थालिएको जेन-जी आन्दोलनले आकार नलिँदै झिन्जी हुने संकेत देखिन थाल्यो ।
त्यस बेला भट्टजीले यस्तो लेख्न हतारो गरे भन्ने मलाई परेको थियो। आज हेर्दा उनले सही आँकलन गरेका रहेछन्।
जेन-जी, जेन-वाई र जेन-एक्सका सम्पूर्ण पाठकज्यू !
वाई र एक्स पुराना हौं, तपाईँ जेन-जी त १३-२८ वर्षसम्मका युवा पुस्ता। तपाईँको अगुवाइमा डेढ महिना अगाडि भएको प्रदर्शन भनौँ वा विद्रोह भनौँ वा क्रान्ति भनौँ– त्यसले साबिक संसद्को विघटन र कांग्रेससहितको ओली सत्तालाई विस्थापित गरिसकेको छ। भलै, त्यससँग जोडिएका भूराजनीतिक स्वार्थ वा त्यसपछि स्थापित गर्न खोजिएका ‘कन्स्पिरेसी’हरूलाई एक छिन बिर्सिदिऔँ। ती तपाईँ जेन-जीको प्रदर्शन–उत्तेजनाका सहायक कारण मात्रै हुन्।
झिन्जी भनेको त बुझिहाल्नुभयो,तामाङ भाषामा यसको अर्थ सक्किनु अथवा सक्कियो भन्ने नै हो । जुन उद्देश्यले जेन-जी प्रदर्शन, विद्रोह वा क्रान्ति भएको थियो, त्यो उद्देश्य समाप्ति नजिक पुगिसकेको त छैन? भन्नुपर्ने धेरै आधार अहिले बन्न थालिसकेका छन्।
तत्कालमा सामाजिक मिडिया बन्द विरुद्ध खडा भएका तपाईँ जेन-जीका मूल माग थिए– सुशासन र भ्रष्टाचार नियन्त्रण। ती मागलाई ’म्यासाकर’ शैलीमा दबाउन खोजेकैले ओली सरकार विस्थापित भैसकेको छ। साबिक संसद् रहँदा फेरि पुरानै चरित्र र समीकरणबाट सत्ताको खेल खेलिन सक्छ भनेरै संसद् पनि विघटन गरियो, मानौँ।
त्यसैले पार्टीहरूको अर्थात् एमाले–कांग्रेससहितको ओली सरकारको ठाउँमा नागरिकको अर्थात् सुशीला कार्की नेतृत्वको सरकार आयो। र, उक्त सरकारले ६ महिनामा, अर्थात् फागुन २१ गते आम चुनाव गर्ने म्यान्डेट पायो।
त्यस अर्थमा सुशीला नेतृत्वको नागरिक सरकारको मूल काम सुरक्षा व्यवस्था मजबुत बनाएर निर्धारित मितिमै चुनाव गर्नु हो। चुनावपछि कस्तो शासन? भन्ने सन्दर्भ भने चुनावमा भोट हाल्ने आम वृत्तकै मर्जीअनुसार हुने भयो।
चुनावपछि कस्तो शासन ? त्यसमा एक छिनपछि आउँला । एक छिन अहिलेको शासन कस्तो? भन्नेतिरै सोचौँ।
०००
७६ जनाको बलिदानपछि बनेको सुशीला सरकारको मूल प्राथमिकता त आम चुनाव हुँदै हो। सँगै जेन-जी प्रदर्शनमा नरसंहार गर्ने तत्कालीन सत्ता र त्यसका संयन्त्र अनि राष्ट्रिय र निजी सम्पत्तिमाथि आगजनी तथा डकैती गर्ने अपराधीको पहिचान तथा कारबाही पनि हो।
सहिद एवम् तिनका परिवारलाई सम्बोधन गर्ने, घाइतेको उपचार र पुनर्स्थापना गर्ने, पुनर्निर्माण स्रोतको विश्वासिलो आधार बनाउने साथै चुनावबीचका नियमित कानुनी, वितरण, सेवा जस्ता दैनिक प्रशासनिक कार्यलाई छिटो, चुस्त, गुनासोरहित एवम् भ्रष्टाचाररहित सञ्चालन गर्नु सरकारको मूल काम हो।
तर डेढ महिनाको संकेतले सुशीला सरकार यी प्राथमिकताबाट बहकिएको देखिँदैछ। राजदूत फिर्ता गर्ने निर्णयदेखि स्वार्थ केन्द्रित सरुवा, बढुवा, आर्थिक मनोमानी तथा पुरानै तरिकाको शक्ति अभ्यासतिरै सरकारको ध्यान खिचिएको देखिँदैछ।
जेन-जीको असली उद्देश्य विपरीत जेन-जी नामका असरल्ल झुन्डहरूले सार्ने र सारेका अन्टसन्ट कुरा सुन्दा मन्त्री बनाइएका र मन्त्रीका लागि छनौट गरिएका मानिसहरू नै वादविवादको घेरामा पर्न थालेका छन्। सरकारलाई प्राथमिकता सम्झाउने खबरदारी गर्न ढिलो भैसकेको छ।