एजेन्सी: मेचीनगर नगरपालिका-७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन्।
उनको घर नजिकै सीमा क्षेत्रमा ९०र२ पिपी ५० नम्बरको सीमा स्तम्भ उभिएको छ। त्यही सीमा स्तम्भलाई आड लगाएर उनीहरुले चौका र छक्का हानेको क्रिक्रेट बल कहिले नेपालतिर र कहिले भारतीय भूमिको पहेँलपुर तोरीबारीमा पुग्ने गर्छ
चार वर्षअघि नेपाल र भारत दुवै मुलुकले दशगजा क्षेत्र खाली राख्ने निर्णय गरेसँगै गैरीगाउँको दशगजा क्षेत्र बालबालिकाका लागि खेलमैदान जस्तै भएको छ भने स्थानीयवासीको गाईबाख्रा चराउने चरन बनेको छ। तीन दशकअघि सीमा अद्यावधिक गर्ने क्रममा ९०र२ पिपी ५० नम्बरको सीमा स्तम्भ गाडिएको थियो।
गैरीगाउँको माझमा गाडिएको सो सीमा स्तम्भले स्थानीय बासिन्दालाई दुई देशको फरक भूगोलमा बाँडिदियो। अहिले गाउँको आधा भाग भारततिर परेको छ।
स्थानीय कुलप्रसाद तिवारीको डेढ बिगाहा जग्गा त्यही बेलादेखि सीमा पारि भारतमा पर्यो । नेपाल र भारत दुवैतिर उनको खेतीपाती चलिरहेको छ । सीमा अद्यावधिक हुनुअघि दुवैतिरको जग्गाको उनीसँग नेपाली धनीपुर्जा थियो।
उसबेला तिवारीले सरकारी मालपोत नेपालमै बुझाउनु हुन्थ्यो । तर, गैरीगाउँको माझमा सीमा स्तम्भ ठडिएपछि उनको जस्तै दर्जनौँ बासिन्दाले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा भारतीय भूभाग ठहरियो।
तिवारीको जग्गामा यतिबेला तोरी फुलेर पहेँलपुर भएको छ । तोरीबारीको माझमा रहेको दशगजामा स्थानीय बालबालिका विद्यालय छुट्टी हुनासाथ क्रिक्रेट, फुटबल, भलिबल र कबड्डी खेल्न दिनहुँ झुत्तिन्छन्। ‘खेल्दाखेल्दै कहिलेकाहीँ भारततिरका एसएसबी (भारतीय सशस्त्र सीमा सुरक्षा बल)का अङ्कलहरु आउनुहुन्छ, कहिले नेपालका सशस्त्रको अङ्कलहरु आउनुहुन्छ,’ काँकडभिट्टा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत ठकुरी भन्छिन्, ‘दशगजा होस् कि बीसगजा होस्, हामीलाई खेल्न पाए भयो। अङ्कलहरुले राम्ररी खेल्नु भनेर हौस्याउनुहुन्छ । हामीलाई त उहाँहरुसँग केही डर लाग्दैन।’
गैरीगाउँमा नेपाली धनीपुर्जा भएको पचासौँ बिगाहा जग्गा सीमा अद्यावधिकका कारण भारतीय भूमिमा परेको विवादास्पद प्रसङ्गले बेलाबेला सञ्चारमाध्यममा चर्चा पाउने गरेको छ । तर गाउँमा भने विवाद र भएको कुनै छनक छैन। नेपाली नागरिकता, जग्गा धनीपुर्जा र बिजुलीका मिटर रहेका दर्जनभन्दा बढी स्थानीयवासीको घर अहिले पनि भारतीय भूमिमा छ।
‘चार वर्ष अघिसम्म दशगजा क्षेत्रमा यतिबेला तोरीको फूलले पिल्लर नै छोपिएला जस्तो हुन्थ्यो,’ गैरीगाउँको दशगजामै आँगन जोडिएका ५१ वर्षीय श्याम बाँतर भन्छन्, ‘अहिले दशगजा खाली गराइएको छ । मेरो घरको आँगन नै दशगजामा परेको छ । मानिसहरुले दशगजामा खेतीपाती गर्न छाडेका छन्।’
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
