माथिल्लो भागको पहाडबाट लगातार झरेको ठूला ढुंगासहितको सुक्खा पहिरोले तातोपानी भन्सार यार्ड, गोदाम, भन्सार कार्यालय भवन, आवास क्षेत्र र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा क्षति पुगेको छ । भन्सार हातामा पानी तथा बिजुली बन्द भएको छ भने सुक्खा पहिरोसहितको ढुंगा खस्न रोकिएको छैन ।
माथिल्लो भागको पहाडबाट बिहीबार राति ठूला ढुंगा झरेका थिए । त्यहाँ २०७२ को भूकम्पका बेला सुक्खा पहिरो खस्न सुरु गरेको थियो । ठूला ढुंगा खस्दा भन्सार कार्यालय भवन र गोदाममा क्षति पुगेको छ । टिनको छानाबाट खसेको ढुंगा गोदाममा छिरेको छ ।भन्सार हातमा जताततै ढुंगा खसेपछि कर्मचारी बस्न सक्ने अवस्था नरहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।
राति ढुंगा खस्न थालेपछि आवास क्षेत्रमा सुतिरहेका कर्मचारी भागेका थिए । ठूला चट्टानले गोदाम गरिरहेको व्यापारिक मालवस्तुमा क्षति पुगेको अध्यक्ष बस्नेतको भनाइ छ । ‘क्षतिको विवरण संकलन भइरहेको छ । मालबाहक कन्टेनर तथा पार्किङ गरिरहेका इलेक्ट्रिक गाडी (ईभी) मा पनि क्षति पुगेको छ,’ उनले भने । ईभी पार्किङस्थल नभएका कारण अन्यत्र लैजाने अवस्था नरहेको भन्सारले जनाएको छ ।
तातोपानी भन्सार प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार केही दिनदेखि साना ढुंगा झरिरहेकामा राति एक्कासि ठूलो चट्टान खस्न थालेपछि कर्मचारीको भागाभाग भएको थियो । चीनसँगको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको उक्त नाकामा आउजाउ गर्ने सडकसमेत गत असार ३१ देखि पूर्ण रुपमा बन्छ । नाकामा व्यापारिक कारोबार नभएको तीन साता बितेको छ । सडक बन्द भएकाले भन्सार यार्डमा राखिएका सयभन्दा बढी ईभी रोकिएका छन् । तत्काल सडक खुल्ने अवस्था छैन ।‘यदि दिउँसो काम गरिरहेका बेला हो भने मान्छेहरुकै ज्यान जाने रहेछ,’ भन्सार प्रमुख गिरीले भने, ‘भन्सार हातामा बस्न नसकिने भएपछि कर्मचारीहरुले सुरक्षित स्थानमा कोठा खोजिरहेका छन् ।’ चीनले बनाएको उक्त सुख्खाबन्दरगाह सुरक्षित स्थानमा रहेको अनुमान गरिएकामा पहराबाट आएको सुक्खा पहिरोले असुरक्षित बनेको छ । उक्त स्थानमा सशस्त्र प्रहरीको बीओपी बस्दै आएको छ । भन्सार यार्डबाट सीमा नाका करिब ६ किमि उत्तरपूर्वमा रहेको छ । सुक्खा बन्दरगाह इन्टरमोडलको सुपरभिजनमा चीनको सहयोगमा बनेको हो । हाल भन्सारको गोदामको सुरक्षाको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ ।
You may also like
-
यो आम रूपमा मुख थुन्ने प्रयास जस्तै देखिन्छ’ नेपालको स्वतन्त्र प्रेसमाथि बालेन्द्र शाहको प्रहार
-
अरूसँग होइन, हिजोको आफूसँग प्रतिस्पर्धा गरेँ : मिस नेपाल दीपमाला ढकाल
-
भुटेको मकै : अब सहरियाको ‘हेल्दी स्न्याक्स’
-
ज्येष्ठ नागरिकका पीडा : आराम-सम्मानको उमेरमा अपमान र दुर्व्यवहार
-
नेपालको जङ्गलमा च्याउ सङ्कलकहरूले भेट्टाए राजनाग गोठ संरक्षणका लागि प्रवेशमा रोक
