जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि विद्युत् आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न मन्त्रालयले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका तथा प्रमुख सहरहरूमा स्मार्ट मिटरिङ र सबस्टेसन अटोमेसन प्रणाली विस्तार गर्ने कार्य अघि बढाइएको जानकारी दिए ।
सांसद बासना थापाको प्रश्नको जवाफमा क्रममा मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२-८३ मा नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरे पनि विद्युत् निर्यातलाई मात्र नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न नमिल्ने स्पष्ट गरे।
मन्त्री श्रेष्ठले नेपालको जलविद्युत् उत्पादन प्रणाली मुख्यतया नदी प्रवाही प्रकृतिको भएकाले वर्षायाममा नदीमा पानीको बहाव बढेसँगै उत्पादन उच्च हुन्छ । सो समयमा स्वदेशी मागभन्दा बढी विद्युत् उत्पादन हुने भएकाले आन्तरिक खपतको पर्याप्त पूर्वाधार नहुँदा विद्युत् खेर जान नदिन भारत र बङ्गलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहने बताए ।
सुक्खायाममा उत्पादन घट्ने भएकाले अझै पनि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था भएकाले आर्थिक वर्ष २०८२-८३ मा नेपालले करिब १० अर्ब ५५ करोड रूपैयाँको विद्युत् आयातसमेत गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
उनले जनताको गुनासो तत्काल सम्बोधन गर्न मन्त्रालयको २४ सै घण्टा सञ्चालन हुने ११५१ हटलाइन, नेपाल विद्युत् प्राधिकरणको ११५० हटलाइन तथा ‘नो लाइट सेवामार्फत गुनासो सुनुवाइ र समाधानको काम हुँदै उल्लेख गरे ।
