कालभैरव मन्दिरमा हरेलो मेलाको रौनक

बागलुङ दक्षिण बागलुङको बलेवास्थित प्रसिद्व धार्मिक शक्तिपिठ कालभैरव मन्दिरमा मंगलबारदेखि हरेलो मेला सुरु भएको छ । कालभैरव मन्दिरमा विगत चार वर्षदेखि मन्दिर व्यवस्थापन समितिको आयोजनामा विशेष पूजासहित हरेलो मेला लाग्दैआएको छ ।
बागलुङ नगरपालिका वडा १० भकुण्डे, वडा ११ रायडाँडा, वडा १२ अमलाचौर, वडा १३ पैयुँपाटा र वडा १४ नारायणस्थान तथा जैमिनी नगरपालिका वडा १ कुश्मिसेराका बासिन्दाले कालभैरव मन्दिरलाई कोटको रुपमा पुज्दैआएका छन् ।
सदियौं वर्षअघिदेखि कालभैरव मन्दिरमा हरेलो पर्व मनाउने र भैरवको पूजा गर्ने चलन छ । बाइसे चौविसे राजाको पालादेखि बलेवा कोटका सबै क्षेत्रमा हरेलो पर्व मनाउने किंवदन्ती रहेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर केसीले बताए ।
खेतीपाती लगाएपछि किराफट्याङग्रा र बाढी पहिरोले खेती नबिगारोस् भनेर हरेलो गरिन्छ ।
कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । दसैंको नवमी र हरेलोको दिन कालभैरवमा धेरै भीड लाग्ने गर्छ । बलेवा कालभैरव प्रसिद्ध तीर्थस्थल हो । कालभैरवलाई पशुबलीसँगै नरिवल र फलफूल चढाउने चलन छ ।
पछिल्लो समय पशुबलीको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदैगएको छ । कालभैरव मन्दिरमा पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ, गुल्मी, प्युठान, अर्घाखाँची र काठमाडौं तथा चितवनबाट दर्शनार्थी आउने गरेका छन् ।
संघ सरकारको २७ लाख र प्रदेश सरकारको १० लाख बजेटबाट मन्दिर परिसरमा पर्यटकीय संरचना निर्माण गरिएको छ । हरेलो मेलामा आउने पर्यटकले घरबासको गाउँले परिचित भकुण्डे, भ्यूटावर, मुलाबारी क्षेत्रको अवलोकन गरेर रमाउने गर्छन् ।
३ वर्षअघिको मेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यहाँको सडक बनाउने प्रतिवद्धता गरेपछि पैयुँपाटा तर्फको सडक कालोपत्र भइसकेको छ । अब अमलाचौर तर्फको सडक कालोपत्रको तयारी भएको समितिका कोषाध्यक्ष केसीले जानकारी दिए ।
हरेलोलाई मौलीक मेलाको रुपमा विकास गर्ने, आएका भक्तजनलाई सहज रुपमा पूजा गर्ने वातावरण बनाउने, पाहुनालाई सहज रुपमा भैरवस्थान लैजाने, कलाकारबाट गीत संगीत प्रस्तुति गर्ने लक्ष्य राखिएको छ । मेलामा ८ लाख बढी खर्च हुने समितिको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *