नेपाल–चीन सीमा व्यवस्थापन, सुरक्षा तथा सीमावर्ती क्षेत्रका साझा विषयमा छलफल गर्न हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको टोली चीनको पुलान काउन्टी पुगेको छ।
चिनियाँ सरकारको निमन्त्रणामा सेप्टेम्बर १४ देखि १७ तारिखसम्म सञ्चालन हुने सीमा वार्तामा सहभागी हुन टोली त्यहाँ पुगेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले बताए। उनका अनुसार चार दिनसम्म चल्ने वार्तामा भन्सार, अध्यागमन, सीमा सुरक्षा तथा सीमासँग सम्बन्धित विभिन्न विषयमा दुई पक्षबीच छलफल हुनेछ।
बाढीपहिरोका कारण दार्चुलाको टोली भने वार्तामा सहभागी हुन नसकेको बताउँदै हुम्लाबाट प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नन्दबहादुर साउद तथा चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा सहभागी छन्। त्यस्तै, बझाङबाट प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोरा, चीनसँग सीमा जोडिएको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा तथा सशस्त्र प्रहरी बलका प्रमुख उज्ज्वल लामिछाने लगायतको सहभागिता रहेको छ। टोली असोज १ गते हुम्ला फर्किने कार्यक्रम छ।
सीमा वार्ताको अवसर पारेर हुम्लाको नाम्खा गाउँपालिका र चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत आली प्रिफेक्चरको पुलान काउन्टीबीच भगिनी सम्बन्ध स्थापना गर्ने आशयपत्रमा हस्ताक्षर भएको छ। नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले आशयपत्रमा हस्ताक्षर गरेका हुन्।
दुई छिमेकी क्षेत्रबीच आपसी मित्रता, सद्भाव, सांस्कृतिक आदानप्रदान तथा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आशयपत्रमा हस्ताक्षर गरिएको अध्यक्ष लामाले बताए। यस समझदारीले कृषि, पशुपालन, पर्यटन, संस्कृति तथा अन्य साझा हितका क्षेत्रमा सहकार्यका नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ।
