अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग बिहीबार साँझ ५ बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमणको दोस्रो दिन शुक्रबार बिहान पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा वाग्ले सहभागी हुनेछन्।
सोही दिन साँझ ५ बजे भारतीय विदेशमन्त्री डा। एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि साँझ साढे ७ बजे भारत व्यापार सम्वर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाटमा पनि उनी सहभागी हुनेछन्।
भ्रमणको अन्तिम दिन शनिबार बिहान साढे ९ बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
त्यसपछि बिहान साढे ११ बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागी भएर वाग्ले शनिबार साँझ ४ बजे नेपाल फर्किने कार्यक्रम रहेको छ।
अर्थमन्त्रीको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँ दिल्ली स्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा। सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारीलगायत सहभागी छन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीच आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ।
