राजधानी जोड्ने पृथ्वी राजमार्गको दीर्घकालीन समाधान खोज्नु पर्ने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बताएका छन्।
गत भदौ १० गते रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले धादिङको कृष्णभीरमा सडक कटान गरेपछि यातायात अवरुद्ध भएको थियो। नयाँ ट्रयाक खोलेर अवरुद्ध सडक बिहीबारदेखि सञ्चालनमा आएको छ ।
नयाँ ट्रयाकमार्फत दुईतर्फी सडक सञ्चालनमा आउनु विपद्बाट प्रभावित जनजीवन र आपूर्ति व्यवस्थालाई सहज बनाउन महत्त्वपूर्ण उपलब्धि भएको घिसिङले बताएका छन्।
कृष्णभीर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानतर्फ तत्कालै काम अघि बढाउन आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
विज्ञबाट विस्तृत भौगर्भिक अध्ययन गराई सुरक्षित र दिगो सडक संरचनाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। साथै सम्भावित जोखिमका बेला वैकल्पिक सडकको पहिचान गरी निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष घिसिङले लेखेका छन्, ‘मुलुकले ठूलो विपद्को सामना गरिरहेको कठिन समयमा सडक सुचारु गर्न अहोरात्र खटिनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
विपद्का बेला समयमै जुट्ने यस्तै सामूहिक प्रयासले कठिन परिस्थितिमा नागरिकलाई ठूलो राहत र भरोसा प्रदान गर्ने उनले उल्लेख गरेका छन्। सबैको निरन्तर समन्वय, सक्रियता र प्रतिबद्धताबाट बाँकी प्रभावित सडक तथा पूर्वाधारहरू पनि यथाशीघ्र सुरक्षित रूपमा सञ्चालनमा आउने विश्वास उनले व्यक्त गरेका छन्। यसका साथै बट्टारदेखि वेत्रावती हुँदै धुन्चे–स्याफ्रुबेँसीसम्मको मोटर बाटो छिटो सञ्चालनमा ल्याउन पनि अध्यक्ष घिसिङले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
