वर्षाको जोखिमले विद्यालयमा २ दिन बन्द गर्ने निर्णय

अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न पालिकाहरूले विद्यालयमा बिदा दिएका छन् ।
विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ । विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने जानकारी दिएको हो ।
नदीनालामा पानीको बहाव बढ्न सक्ने, बस्ती तथा सडकमा डुबान हुन सक्ने र बाटोघाटो अवरुद्ध हुने जोखिम रहेकाले विद्यार्थी तथा सर्वसाधारणको सुरक्षाका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ ।
यस्तै सम्भावित भारी वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले पनि नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
नगर प्रमुखस्तरीय निर्णयअनुसार असोज ८ गते दिवा सत्रका सबै कक्षा बन्द रहनेछन्। यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका कक्षा सञ्चालन नहुने उपमहानगरपालिकाले जनाएको छ ।
यसैगरी, पोखरा महानगरपालिकाले पनि वर्षाबाट हुने जोखिमलाई मध्येनजर गर्दै विद्यालयमा २ दिन स्थानीय बिदा दिएको छ
बिहीबार र शुक्रबार महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द रहने महानगरपालिकाले जनाएको छ। मेयर धनराज आचार्यका अनुसार पठनपाठन बन्द गरिएको यी दुई दिनको अवधि पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *