अर्घाखाँचीको पाणिनि गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय सरकारका कामकारबाहीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरेको कृत्रिम बौद्धिकता ९आर्टिफिसियल इन्टेलिजेन्स–एआई० सम्बन्धी तीनदिने तालिम सम्पन्न गरेको छ।
गाउँपालिकाको आयोजनामा कात्तिक २७ देखि २९ गतेसम्म सञ्चालन भएको तालिममा जनप्रतिनिधि तथा कर्मचारीहरूलाई एआई प्रविधिको प्रयोग, महत्व र व्यावहारिक उपयोगका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमको पहिलो दिन जनप्रतिनिधि तथा दोस्रो र तेस्रो दिन गाउँपालिकाका कर्मचारीहरूलाई लक्षित गरी प्रशिक्षण सञ्चालन गरिएको थियो।
गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा प्रमुुख प्रशासकीय अधिकृत सुुवर्ण खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए। तालिममा नेपाल खुला विश्वविद्यालयको विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डिन डा। भोजराज घिमिरे र सन्धिखर्क नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल महतले सहजकर्ताका रूपमा प्रशिक्षण दिएका थिए। तीन दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा एआईको अवधारणा, महत्व, प्रयोगका सम्भावना तथा स्थानीय सरकारका कामकाजमा यसको उपयोगबारे सहजीकरण गरिएको थियो।
विशेषगरी प्रशासनिक कार्यसम्पादन, योजना निर्माण, सूचना तथा तथ्यांक व्यवस्थापन, प्रतिवेदन तयारी र सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउन एआई प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले जानकारी दिए।
पहिलो दिन जनप्रतिनिधिहरूलाई नीति निर्माण, योजना तर्जुमा तथा निर्णय प्रक्रियामा आधुनिक प्रविधिको उपयोगबारे जानकारी गराइएको थियो भने दोस्रो र तेस्रो दिन कर्मचारीहरूलाई कार्यालयको दैनिक कामकाज र सेवा प्रवाहमा एआईको व्यावहारिक प्रयोगसम्बन्धी सीप प्रदान गरिएको थियो। सूचना प्रविधिको तीव्र विकाससँगै स्थानीय तहका कामकारबाहीलाई आधुनिक, पारदर्शी, छरितो र प्रभावकारी बनाउन जनशक्तिको क्षमता विकास आवश्यक रहेको भन्दै गाउँपालिकाले यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ।
