नेपालले आयोजना गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म’ कार्यक्रम

अमेरिकाको न्युयोर्कमा नेपालले जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन ‘सगरमाथादेखि समुद्रसम्म स् जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ।
संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालले आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले साझा जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताए ।
भोटेकोसीमा आएको विनाशकारी बाढीपछि नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल, संयुक्त राष्ट्रसंघ तथा विभिन्न मुलुकका उच्चस्तरीय प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा नेपालले भोटेकोसी बाढीसम्बन्धी छोटो भिडियोसमेत प्रस्तुत गरेको थियो । कार्यक्रमका सहआयोजकमा भुटान, माल्दिभ्स, न्युजिल्यान्ड, सामोआ र ताजिकिस्तान थिए ।
कार्यक्रममा खनालले हिमाल, नदी, समुद्र तथा तटीय र द्वीपीय क्षेत्र जलवायु परिवर्तनका दृष्टिले परस्पर जोडिएको पारिस्थितिक प्रणाली भएको बताए । ं‘तपाईंहरूको साझेदारीले हिमाली, द्वीपीय र तटीय क्षेत्रका दृष्टिकोणलाई एउटै संवादमा ल्याएको छ,’ उनले भने ।
नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले गत २६ अगस्टमा लाङटाङ क्षेत्रमा चट्टान र हिमनदीको ठूलो हिस्सा खस्दा जनधन तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको बताए । उक्त घटनालाई आफूले ‘हिमालयन सुनामी’ का रूपमा वर्णन गरेको उल्लेख गरे ।
सगरमाथा तथा हिमालय क्षेत्रलाई ध्रुवीय क्षेत्रबाहेक सबैभन्दा ठूलो हिम तथा हिउँ भण्डार रहेको ‘थर्ड पोल’ अर्थात् ‘तेस्रो ध्रुव’ का रूपमा व्याख्या गर्दै उनले यस क्षेत्रमा ६३ हजार ७ सयभन्दा बढी हिमनदी रहेको बताए ।
नेपालले सन् २०२५ मा जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यलाई केन्द्रमा राखेर पहिलो ‘सगरमाथा संवाद’ आयोजना गरेको स्मरण गर्दै उनले यसको दोस्रो संस्करणमा आगामी वर्ष अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गर्न नेपाल इच्छुक रहेको बताए । ‘सगरमाथादेखि समुद्रसम्म’ लाई ज्ञान, साझेदारी र व्यावहारिक सहकार्यको मञ्चका रूपमा विकास गर्ने नेपालको परिकल्पना रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *