नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेज प्रालि जोडिएको छ ।
एनपीएलको तेस्रो संस्करणका लागि कर्णाली याक्स र प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेजबीच सम्झौता भएको हो । सम्झौता पत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेजकी निर्देशक प्रिज्मा गौतमले हस्ताक्षर गरे ।
सम्झौतासँगै प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेज एनपिएल सिजन–३ मा कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरका रूपमा रहनेछ । प्राइम पहिलोपटक कर्णाली याक्ससँग जोडिएको हो।
सम्झौतापछि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले नयाँ साझेदारीले कर्णाली याक्सको व्यावसायिक यात्रालाई थप मजबुत बनाउने बताए।
‘कर्णाली याक्ससँग पहिलोपटक जोडिनुभएकोमा प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेजलाई धन्यवाद दिए। यो साझेदारीले कर्णाली याक्सलाई मैदानभित्र मात्र होइन् मैदानबाहिर पनि थप व्यवस्थित र व्यावसायिक रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास लिएका छौं,’ मल्लले भने।
प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेजकी निर्देशक गौतमले कर्णाली याक्ससँगको सहकार्यलाई नेपाली क्रिकेटसँग जोडिने अवसरका रूपमा लिएको बताइन्।
एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ। लिगको लागि कर्णाली याक्सले विदेशी खेलाडीको रूपमा इङ्गयान्डका मार्क वाट र बङ्गलादेशका अकबर अलीलाई अनुबन्ध गरिसकेको छ।
कर्णालीको प्रमुख प्रायोजकको रूपमा एक्स्ट्रिम र हेडगेयर पार्टनरको रूपमा पल्मबर पाइप रहेका छन्।
