ऊर्जा मन्त्री श्रेष्ठले गरे कुलेखानी जलविद्युत् ड्यामको निरीक्षण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गरेका छन् ।
असोजमा आएको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ शनिबार कुलेखानी ड्याम पुगेका हुन् । मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गराएका थिए ।
मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताए । भारी वर्षाको बेला बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको उनले बताए । ‘सतह म्यानेज गर्ने, २४ सै घण्टा निगरानीमा राख्ने, तल्लो तटमा पनि सूचना प्रवाह गरेर अलर्ट राख्ने गरिएको थियो,’, उनले भने, ‘आज आएर हेर्दा म्यानेज भएको छ । ड्याम स्टेबल छ ।’
‘केही दिनअघिको अविरल वर्षाका कारण देशका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा कुलेखानी बाँधमा पनि पानीको सतह सतर्कता तहमा पुगेको थियो र सम्भावित जोखिमको चिन्ता बढाएको थियो। साथै यसले विद्युत् आपूर्ति व्यवस्थापनमा समेत केही दबाब सिर्जना गरेको थियो। नेपालको विद्युत् प्रणालीको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलविद्युत् केन्द्रमा पनि यसको प्रभाव परेको थियो,’, उनले भने ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले कुलेखानी विद्युत प्रणालीको मेरूदण्ड भएको बताए । ‘यसले सिस्टमलाई पिकिङको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ,’, उनले भने, ‘सिस्टम अपरेटको पोइन्ट अफ भ्युबाट ठूलो योगदान रहिआएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *