भरतपुर अस्पतालमा स्वर उपचार सेवा सुरु

भरतपुर अस्पतालमा स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि ९भ्वाइस थेरापी० स्वर उपचार सेवा सुरु गरिएको छ।
अस्पतालका श्रवण, बोली तथा भाषा विशेषज्ञ सुश्मा लामिछानेका अनुसार आवाजमा परिवर्तन आउने, स्वर बस्ने वा भासिने, लामो समयसम्म घाँटीमा असहज महसुस हुने, बोल्दा स्वर थाक्नेलगायत समस्या भएका बिरामीले उक्त सेवा लिन सक्नेछन्।
उनले भने, ‘स्वर उपचार, बोली उपचार र भाषा उपचार फरक(फरक सेवा हुन्। स्वरसम्बन्धी समस्याको कारण पहिचान गरी बिरामीको आवश्यकताअनुसार उपचार योजना बनाइ सेवा प्रदान गरिन्छ।’
घाँटीमा रहेको स्वरयन्त्रको पर्दाको कम्पनबाट आवाज उत्पन्न हुने भएकाले त्यहाँ गाँठो, सानो मासु पलाउने वा अन्य समस्या भएमा आवाजमा परिवर्तन आउन सक्ने विशेषज्ञ लामिछाने बताउँछन्। स्वरयन्त्रका पर्दा पूर्ण रूपमा जोडिन नसक्दा पनि आवाज कमजोर वा अस्वाभाविक हुनसक्ने उनको भनाइ छ।
विशेषज्ञ लामिछानेका अनुसार स्वरयन्त्रको पक्षाघात, स्नायु प्रणालीसँग सम्बन्धित स्वर समस्या तथा मानसिक कारणबाट उत्पन्न स्वर समस्यामा पनि आवश्यकताअनुसार उपचार गर्न सकिने छ। पुरुषमा असामान्य रूपमा पातलो आवाज हुने तथा महिलामा अपेक्षाकृत मोटो वा गहिरो आवाज हुने समस्यामा पनि स्वर उपचार उपयोगी हुने उनले बताउँछन्।
स्वर उपचार सुरु गर्नुअघि समस्याको कारण पहिचान गर्नु आवश्यक हुने भएकाले सेवा लिन आउने बिरामीले सुरुमा अस्पतालको नाक, कान तथा घाँटी विभागको परामर्श लिनुपर्नेछ।
सोही परामर्शका आधारमा चिकित्सकको मूल्याङ्कनपछि आवश्यकताअनुसार घाँटी तथा स्वरयन्त्रको भित्री अवस्था हेर्न विशेष परीक्षण गरिनेछ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले स्वरसम्बन्धी समस्या भएका बिरामीलाई समयमै परीक्षण, परामर्श तथा उपचारको व्यवस्था गर्न स्वर उपचार सेवा सुरु गरिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *