इजरायल पठाउने नाममा साढे २ करोड ठगी गर्नेविरुद्ध उजुरी आह्वान

जीटूजीबाट इजरायलमा केयरगिभरमा पठाइदिने प्रलोभन देखाई साढे दुई करोड रूपैयाँभन्दा बढी ठगी आरोपमा पक्राउ परेका रामेछापका भरत चौलागाईँ, बालिका शिवाकोटीसहित चारजनाविरुद्ध प्रहरीले उजुरी आव्हान गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ४ जना पक्राउ परिसकेको भन्दै आवश्यक प्रमाणसहित यथाशीघ्र जाहेरी दरखास्त दिन भनेको हो ।
रामेछाप, सुनापति गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्दै आएका ५९ वर्षीय चौलागाईँ कांग्रेस नेतासमेत हुन् । बालिका कांग्रेससम्बद्ध प्रेस युनियनकी केन्द्रीय सदस्य हुन् ।
सीआईबीका अनुसार, सन् २०२४ मा इजरायलको केयरगिभर रोजगारीका लागि सञ्चालित परीक्षा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका परीक्षार्थीहरूको मानसिक तनाव र बाध्यताको फाइदा उठाउँदै उक्त गिरोहले योजनाबद्ध रूपमा ठगी गरेका थिए । परीक्षामा उत्तीर्ण ३४६१ मध्ये ११५२ जना प्रतीक्षा सूचीमा थिए ।
उनीहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग आफ्नो निकट सम्बन्ध रहेको र मन्त्रिपरिषद् ९क्याबिनेट० बाट विशेष निर्णय गराएर तत्काल इजरायल पठाइदिने झुट्टा आश्वासन दिएका थिए ।
पहिलो चरणमा १५६ जना युवाहरूलाई पठाउने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको फर्जी कागजात देखाएर २ करोड ५० लाख रूपैयाँभन्दा बढी रकम असुल गरेको सीआईबीद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (हेलो सरकार शाखा) को पत्र तथा पीडित विमल पराजुलीले दिएको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा संगठित गिरोह नै बनाएर ठगी धन्दा चलाएको पाइएपछि प्रहरीले चौलागाईँसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ बमोजिम ‘ठगी तथा आपराधिक विश्वासघात’ र ‘संगठित अपराध निवारण ऐन, २०७०’ अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *