एमालेले आगामी मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबारदेखि बसेको स्थायी कमिटीको पहिलो बैठकले वडा र पालिका अधिवेशनको मिति तय गरेको हो ।
त्यस्तै, आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको महासचिव शंकर पोखरेलले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहनेछ ।
पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गरिने एमालेले जनाएको छ ।
बैठकले मधेश प्रदेश सभामा पार्टीका समानुपातिकतर्फका सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ ।
त्यस्तै, २३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा स्थानान्तरण गरी माथिल्लो कमिटीको अनुमोदनका लागि पठाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन पनि गरेको छ । मनोननीत हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मप्रसाद साह (सिरहा), तेजमान कन्दङ्वा (तेह्रथुम), टंक आङबुहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मिनप्रसाद गुरुङ (स्याङ्जा), डबल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहेका छन् ।
