एनपीएला लागि सुरक्षा व्यवस्था कडा

नेपाल प्रिमियर लिग (एनपिएल)मा सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ ।
एनपीएलमा हुन सक्ने बेटिङदेखि म्याच फिक्सिङसम्मको निगरानीका लागि प्रहरीका विशेष टोली परिचालन गरिएको छ ।
यस्तै सुरक्षाका लागि झण्डै १४ सय प्रहरी परिचालन गरिने छ। जिल्ला सुरक्षा समितिले नेपाल क्रिकेट संघ (क्यान) सँगको समन्वयमा सुरक्षा योजना तयार पारेको हो।
निजी सुरक्षा कम्पनीलाई भित्रको व्यवस्थापनमा मुख्य जिम्मेवारी दिइएको छ। त्यसका लागि करिब तीन सय सुरक्षा गार्ड खटाइनेछ। तर निजी सुरक्षा गार्डसँगै चुस्ताबिना र सादा पोसाकमा नेपाल प्रहरी पनि खटिनेछ।
काठमाण्डु जिल्ला प्रहरी परिसरका एसपी दानबहादुर थापाका अनुसार खेलमा कुनै अवाञ्छित गतिविधि हुन नदिन सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।
अनलाइन बेटिङदेखि म्याच फिक्सिङसम्मका गतिविधिको निगरानी गर्न प्रहरीका विशेष टोली बनेको उनले बताए । प्रहरी प्रधान कार्यालय र सिआइबीका केही प्रहरीलाई सम्भावित म्याच फिक्सिङको निगरानीमा खटाइएको छ ।
यस्तै खेलाडी बस्ने होटेलहरूमा समेत सुरक्षाका लागि प्रहरी खटाइएको छ । रंगशालामा दैनिक रूपमा तालिमप्राप्त कुकुरसहित सुरक्षा जाँचदेखि ड्रोनको प्रयोग पनि गरिने एसपी थापाले बताए ।
हरेक फ्रेन्चाइज टोलीसँग समन्वय गर्न छुट्टाछुट्टै प्रहरी अधिकृतहरूलाई जिम्मेवारी दिइएको छ। त्रिवि क्रिकेट मैदानमा हुने सुरुक्षा कीर्तिपुर वृत्तका डीएसपीको कमान्डमा हुनेछ। तर त्यहाँ जिल्ला प्रहरी परिसर काठमाण्डुबाट पनि थप डीएसपीलाई खटाइनेछ।
एनपिएल सुरक्षाबारे शनिबार जिल्ला प्रहरी कार्यालय, सुरक्षा अधिकारी र क्यानका पदाधिकारीबिच छलफल भएको थियो भने आइतबार साँझ उच्च प्रहरी अधिकारीले रंगशाला क्षेत्रमै पुगेर ब्रिफिङ लिएका छन् । क्यानसँगको छलफलमा खेलाडीको सुरक्षादेखि पार्किङका विषयमा समेत छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *