दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोज महिनामा मुटुका सातवटा जटिल अप्रेसन भएका छन् ।
चालु आर्थिक वर्षको असोजमा १ सय ९७ जना बिरामीले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गरेका थिए । तीमध्ये १ सय ९० जनाले ओपीडीमार्फत सेवा लिएका छन् भने सात जनाको अप्रेसन भएको छ ।
प्रतिष्ठानमा मुटुको कोरोनरी एन्जियोग्राफी र एन्जियोप्लास्टी सेवा सुरु भएपछि मुटुरोगको विशेषज्ञ उपचार सेवा प्रभावकारी बन्दै गएको हो । यसअघि जिल्लामा मुटुरोगको उपचार सेवा थिएन । प्रतिष्ठानमा गत वर्ष सेवा सुरु भएपछि बिरामीले सहज रूपमा उपचार पाउन थालेका हुन् । यसअघि मुटुको उपचारका लागि यस क्षेत्रका बिरामी नेपालगन्ज, बुटवल, काठमाडौं र भारत जानुपर्ने बाध्यता थियो ।
यस सेवाका लागि फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा। दिनेश उप्रेतीको नेतृत्वमा विशेषज्ञ टोली कार्यरत छ । मुटुरोगको उपचारका लागि प्रतिष्ठानमा विशेषज्ञ डाक्टरका साथै क्याथ ल्याबसहित आवश्यक महत्त्वपूर्ण उपकरणहरू उपलब्ध छन् ।
मुटुरोगको उपचार सेवालाई थप सहज बनाउन प्रतिष्ठानले विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृत हुन निवेदन पठाएको छ । सूचीकृत भएपछि बिरामीले प्रतिष्ठानबाटै थप सहुलियत प्राप्त गर्ने प्रतिष्ठानका रजिस्ट्रार प्रा। श्याम लम्सालले बताए । मुटुरोगसम्बन्धी उपचारदेखि अप्रेसनसम्मको सेवा विस्तार प्रतिष्ठानको महत्त्वपूर्ण उपलब्धि रहेको लम्सालले बताए ।
