भीमफेदी दुर्घटनाबारे छानबिन गर्न समिति गठन

मकवानपुरको भीमफेदीमा बिहीबार भएको यात्रुवाहक सवारी दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय समिति गठन गरेको छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।्
समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार पार्न समिति गठन गरिएको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जनाएका छन् ।
त्यस्तै, सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेहरूको उपचार खर्च र मृतकका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाएको छ ।
बिहीबार बिहान भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौं(सर्लाही रुटमा सञ्चालन भएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारी साधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए।
छठ पर्व मनाउन घर जाने क्रममा दुर्घटनामा परी ज्यान गुमाउने यात्रुमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एकजना चालक कविलासी नगरपालिकाका बासिन्दा छन् ।
सरकारले दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको र स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *